वीरगञ्ज- पछिल्लो केही दिनदेखि चलेको शीतलहरसँगै आज मधेसमा यो वर्षकै सबैभन्दा बढी चिसो अनुभव भएको छ । शीतलहर चिसोका कारण मधेसको जनजीवन प्रभावित बनेको छ ।
सोमबार बिहानैदेखि चलेको चिसो हावाको कारण घर बाहिर निस्किन समेत कठिनाइ भएको छ । अत्यधिक चिसोले घर बाहिर रहेका मानिसको हातखुट्टा कठ्याङ्ग्रिएर हिँडडुल गर्न समेत समस्या भैरहेको स्थानीयहरुले बताएका छन् । सोमबार यो वर्षकै सबभन्दा बढी जाडो भएको मौसम पूर्वानुमान कार्यालय सिमराले मापन गरेको छ । कार्यालय प्रमुख केशवराज खरेलका अनुसार आज बिहानको न्युनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार साँझको अधिकतम तापक्रम २१.५ डिग्री सेल्सियस मापन गरिएको प्रमुख खरेलले बताएका छन् ।
आजको न्युनतम तापक्रम यो वर्षकै सबभन्दा कम रहेको मौसम पूर्वानुमान कार्यालय सिमराले जनाएको छ ।
शीतलहरसँगै आज बिहानैदेखि रौतहट,बारा,पर्सा,सर्लाही लगायतका जिल्लामा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सुको कारण सवारीसाधन आवागमनमा समेत कठिनाइ भैरहेको देखिएको छ । शीतलहरसंगै बढेको चिसोले सबभन्दा बाढी वृद्ध अवस्थाका मानिस र बालबालिका बढी प्रभावित हुने गरेको जिल्ला अस्पताल गौरले जनाएको छ ।