काठमाण्डाै- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टी सभापतिबाट अपमानित भएको गुनासो गर्नुभएको छ । पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिभलमा बोल्दै गगन थापाले नयाँ सरकार गठनको विषयमा देउवाले आफूसँग छलफल नै गर्न नचाहेको भन्दै गुनासो गर्नुभएको हो ।
हिजो आइतवार आफूलाई कति बेला फोन आउँछ भनेर कुरिरहेकाे तर फोन नआएपछि आफू पोखरा आइपुगेको महामन्त्री थापाले बताउनुभयो । उहाँले आफूलाई फाेन आउँछ भनेर पाेखरा जाने जहाजकाे टिकट तीन पटकसम्म सारेकाे पनि बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘व्यक्तिगतरूपमा म नढाँटिकन भन्छु, हिजो १० बजे म यहाँ आउने योजना थियो, मैले बिहान ६ बजेदेखि फोन खोलेर पार्टी सभापतिको कल कति बेला आउँछ भनेर कुरेर बसेँ । म अहिले सांसद पनि हो, पार्टीको विधानको हिसाबले पार्टीका महामन्त्री संसदीय दलका पदेन सदस्य हुन्छन्, अहिले दलको नेता शेरबहादुर देउवा हुनुहुन्छ, दुई जना महामन्त्री संसदीय दलको पदेन सदस्य हौँ ।
मेरो सभापतिले पहिले पार्टीभित्र छलफल गर्ने र त्यसपछि गठबन्धनको बैठकमा अन्तिम निर्णय गर्छु भन्नुभएको कुरा मैले समाचारमा सुनेँ । त्यो पार्टीभित्र त म पनि पर्छु, अनिवार्य पर्छु, पक्कै फोन आउला भन्ने लाग्यो । मलाई हिजो यहाँको सत्र छुट्छ कि भन्ने लागेको थियो तर देश यस्तो मोडमा छ, कम्तीमा पार्टीमा छलफल गरेरमात्रै जानुपर्छ भनेर पोखरा आउने जहाजको टिकट १० बजेबाट १२ बजे, १२ बजेबाट २ बजेका लागि सारेँ ।
पार्टी कार्यालयमा भएको छलफल होइन, उहाँको निवासमा भएको छलफल हो, घर हो । घरमा नबोलाइनकन जाने कुरा भएन, फोन गरेर बसेको बस्यै गरेँ । एक प्रकारले भन्ने हो भने म यहाँ अपमानित भएको आएको हो । मैले जे महसुस गरेँ त्यो कुरा मैले शेयर गरेको हुँ ।’