काठमाडौं- एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि एक्समा अडिओ तथा भिडिओ कल फिचर उपलब्ध भएको छ । एक्सका डेभलपरमध्येका एक एन्रिक बार्रागानका अनुसार शुक्रबारदेखि यो फिचर उपलब्ध भएको हो ।
एन्ड्रोइड प्रयोगकर्ताले एक्सको कल फिचर प्रयोग गर्न सबैभन्दा पहिले एप अपडेट गर्नुपर्छ । सम्पूर्ण फिचर प्रयोग गर्न भने सशुल्क एक्स प्रयोग गर्नुपर्ने बताइएको छ । सामान्य अर्थात् निःशुल्क प्रयोगकर्ताले कल गर्न नपाउने भएता पनि कल उठाउन भने सक्नेछन् ।
आईओएस प्रयोगकर्ताका लागि गत अक्टोबर महिनामै यो फिचर उपलब्ध भएको थियो ।
आईओएस तथा एन्ड्रोइड दुवै प्रयोगकर्ताले ‘सेटिङ एन्ड सपोर्ट>सेटिङ एन्ड प्राइभेसी>प्राइभेसी एन्ड सेफ्टी>डाइरेक्ट मेसेज>इनेबल अडिओ एन्ड भिडिओ कलिङ’ मार्फत यो फिचर प्रयोग गर्न सक्नेछन् ।
हाल एक्सको प्रिमियम संस्करण चलाउन न्यूनतम ३ डलर शुल्क तोकिएको छ । तर मासिक १६ डलरसम्म तिरेर प्रिमियम प्लससमेत चलाउन सकिन्छ ।