काठमाडौं- आफ्नै हजुरआमा र काकीको हत्याको अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय पाएका तर ७९ सालको संविधान दिवसमा आममाफी पाएर छुटेका एक व्यक्तिलाई अर्को हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
नवलपुर गैंडाकोट नगरपालिका टोलटोलेका बासिन्दा ३४ वर्षीय सुरेशबहादुर कुमाललाई प्रहरीले माडीका युवकको हत्या आरोपमा पक्राउ गरेको हो । गत राति माडीमा मृत भेटिएका युवकको हत्या उनै कुमालले गरेको चितवन प्रहरीले दाबी गरेको छ ।
गत राति माडी नगरपालिका-४ शितलपुर घुँसेरीका ३४ वर्षीय जीवन नेपाली मृत फेला परेका थिए । उनको टाउकोमा गम्भीर घाउ चोट थियो । आडैमा धारिलो हतियार खुकुरी पनि भेटिएको थियो ।
जीवनको हत्या भएको आशंकामा प्रहरीले खोजतलास गर्दा शनिबार बिहान सवा ५ बजेतिर माडी-३ बाट सुरेशबहादुर कुमाललाई नियन्त्रणमा लिएको हो।
नवलपरासी र नवलपुर गैंडाकोट नगरपालिका टोलटोले घर भएका ३४ वर्षीय सुरेश आफ्नै हजुरआमा र काकीलाई हत्या गरेको अभियोगमा पक्राउ परी १० वर्षअघि नवलपरासी जिल्ला अदालतले सर्वोश्वसहित जन्मकैदको सजाय सुनाएको व्यक्ति भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीले जानकारी दिए ।
डीएसपी अधिकारीका अनुसार ०७९ सालको संविधान दिवसको अवसरमा आममाफी पाएर सुरेश कैदमुक्त भएका थिए ।भिमफेदी कारागारमा रहेका उनी कैदमुक्त भएपछि माडी गएर २ महिनादेखि जीवन नेपालीको घरमा बस्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
तिनै जीवन नेपालीलाई घरमा कोही नभएको मौका पारेर सुरेशले खुकुरी प्रहर गरी हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । त्यसपछि उनी जीवनको घरदेखि ५० मिटर पर रहेको रूपा नेपालीको घरमा छिरेको प्रहरीले जनाएको छ । साथै उनले रूपालेकानमा लगाएको सुनको गहना पनि कानको लोती नै च्यातिने गरी तानेका थिए । रूपाको घाँटी थिचेर मर्यो भन्ने ठानेपछि उनी भाग्दै माडी-३ बसन्तपुर बजार नजिक भित्री सडकमा लुकेका बेला पक्राउ परेको डीएसपी अधिकारीले बताए ।