काठमाडौँ । सत्तारुढ गठबन्धनका तर्फबाट ‘संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव’ संसद्मा पेस भएको छ । संविधान बनेर कार्यान्वयनमा आएको ६ वर्ष हुँदासमेत संघीयता कार्यान्वयनमा सन्तोषजनक काम हुन नसकेको भन्दै सत्तारुढ गठबन्धनसम्बद्ध दलहरूले संकल्प प्रस्ताव संसद्मा पेस गरेका हुन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा पेस गरेकाे संकल्प प्रस्तावमा संघीयता कार्यान्वयन तहमा देखिएका कमजोरीका कारण नागरिकमा असन्तोष रहेको उल्लेख उल्लेख गरिएकाे छ ।
संकल्प प्रस्तावकर्ता स्वतन्त्र सांसद खिमलाल देवकोटा हुन् । समर्थकमा राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारी, माओवादी केन्द्रका रामनारायण बिडारी, एकीकृत समाजवादीका शेरबहादुर कुँवर र जसपाकी प्रमिला कुमारी यादव छन् ।