महोत्तरी- मधेसमा माघेसङ्क्रान्ति पर्व नजिकिएसँगै यहाँका आदिवासी थारु र मगर समुदायको बस्तीमा चहलपहल बढेको छ । पर्वको तयारीमा हिन्दू धर्मावलम्बी अन्य जातजाति सबै लागे पनि यसलाई मुख्य पर्व नै मान्ने तराईका आदिवासी थारु र मगर बस्तीमा यो पर्वको चहलपहल बढेको हो । महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रको बोलीचालीमा यो पर्वलाई ‘तिलासक्रायत’ र ‘मकर सक्रायत’ पनि भनिन्छ । यसपालि यो पर्व अब १० दिनपछि पर्दैछ ।
यस भेगका थारु बस्तीमा अहिले पर्वका लागि सबै आफ्नो सावगासअनुसार माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितका मासु परिकारको जोहो भइरहेको छ । पर्वमा मासु खास परिकार बन्ने भएपछि थारु बस्तीमा केही दिन पहिलेदेखि नै यसको जोहोको तयारी बढेको हो । हुनेखानेले तत्काल पर्व सामग्रीको बन्दोबस्त गरे पनि गरिब किसानका लागि केही दिन पहिलेदेखि नै तयारीले तताउने गर्छ । अहिले बाक्लो हुस्सुले डम्म ढाकेर चिसो निकै बढे पनि थारु बस्ती भने पर्वको चहलपहलमा लागिसकेका छन् ।
छोरीचेली, ज्वाँइचेला, भाञ्जाभाञ्जी र नजिकी इष्टमित्र पर्वमा डाकिने थारु जातिको परम्परा छ । ‘अब पवनी ९पर्व० आई त हाल्यो’ धमाधम चिउराका लागि धान निफन्न व्यस्त भङ्गाहा नगरपालिका–७ मेघरोलकी नगिनासिंह थारु भन्नुहुन्छ, “सबै कुराको जोगार ९जोहो० मा लाग्नु प¥यो नि ।” पर्व नजिकिएसँगै थारु बस्तीका घरघरैजसो सरदाम ९पर्वका लागि आवश्यक वस्तु० जुटाउने चटारो बढेको नगिना बताउनुहुन्छ ।
त्यसैगरी जिल्लाको बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा सघन बसोबास रहेका मगर समुदायमा पनि माघेसङ्क्रान्ति पर्वको तयारी बढेको छ । मगर जातिमा पनि माघेसङ्क्रान्ति पर्वमा छोरीचेली, ज्वाँइचेला, भाञ्जाभाञ्जी र मितमितिनी र नजिकी इष्टमित्रलाई चाडमा डाक्ने चलन छ । महोत्तरीका उत्तरीक्षेत्रका बर्दिबास र गौशाला नगरपालिकाका सबैजसो बस्तीमा मगर समुदायको बाक्लो बसोबास छ ।
यसैगरी बर्दिबासका केही बस्ती, गौशाला, भङ्गाहा र रामगोपालपुर नगरपालिका क्षेत्रमा थारु बसोबासको बाहुल्यता छ । पर्व नजिकिँदै गर्दा थारु र मगर बस्तीमा टाढाटाढा काममा गएका घर फर्किन थालेका छन् । जिल्लामा भङ्गाहा नगरपालिकाका सबैजसो बस्ती थारु बसोबास बाहुल्यताका छन् भने गौशाला नगरपालिकाका निगौल, बिसरपुर, बर्दिबासको मेघरोल र रामगोपालपुर नगरपालिकाको विश्वम्भरपुरमा थारु बसोबासका बस्ती हुन् ।
थारु र मगरबाहेक हिन्दू परम्परा मान्ने अन्य जातजातिमा पनि यो पर्वको तयारी बढेको छ । पर्व नजिकिँदै गर्दा बजारमा पर्व विशेषका सामग्रीको बजार जमेको छ । यो पर्वमा खास महत्वको मानिने तिल, सख्खर ९मिठ्ठा०, चिउरा र मुरीको बजार बाक्लै जमेका छन् । पर्वका लागि केही दिन पहिलेदेखि नै तील, चिउरा, मुरी ९विशेष प्रकारको चामलबाट बनाइने भुजा० र जुनेलो ९अन्न विशेष० भुटेर सख्खरको खुँदोमा मिसाइलाई ९लड्डु० बनाउने परम्परा छ । यसमा सबैभन्दा बढी तयारी तीलको लाईका लागि गरिन्छ ।
“चिउरा, मुरी र जुनेलो त एकसरो भुटेर मिठ्ठामा मोलेर लाई बनाए भयो, तर तील त झञ्झटिलो छ”, गौशालाको निगौल बस्तीकी रासवती थारु भन्नुहुन्छ, “तील त एक साता पहिले नै केलाउने, भिजाएर फल्ने ९बाहिरी कालो बोक्रा निकाल्ने० सुकाउने काम सकेपछि मात्र लाई बन्न सक्छ ।”
तिलासक्रायत पर्वमा तील, चिउरा, जुनेलो र मुरीका लाई ९लड्डु० बनाएर कूलदेवतालाई चढाइ इष्टजनसँगै खाने, ख्वाउने मैथिल परम्परा छ । यो परम्पराले अहिले पर्वविशेषमा चाहिने सामग्रीको बजार जमेको हो । अहिले तील र सख्खरको राम्रो मूल्य पाउने आशमा उखु किसान धमाधम सख्खर बनाएर बजार पु¥याउन व्यस्त छन् । त्यसैगरी तिल उत्पादक किसानको पनि उत्पादित तिल बजार पु¥याउने व्यस्तता छ । चिउरा र मुरीका बजार भने पुस २५ पछि जम्नेछन् । त्यसैगरी पर्वमा खाइने कन्दमूल (पिँडालु, तरुल र सुठुनी) को बजार पुस मसान्तताका जम्ने किसान बताउँछन् ।
तिलासक्रायत पर्व नजिकिँदा सर्वसाधारण उपभोक्ता बढी मूल्यमा पर्ने भए पनि महोत्तरीका तील र उखु किसानले भने थोरै राहत महसुस गरेका छन् । जग्गामा तील थोरै उत्पादन हुनेहुँदा अहिले पाएको मूल्यले अन्यबालीसरह रकम प्राप्त हुनुले केही सन्तोष दिलाएको तिल उत्पादक किसान बताउँछन् । एकदशक पहिलेसम्म एक सय हेक्टरसम्म क्षेत्रफलमा हुँदै आएको तिल खेती त्यसयता घट्दै गएर अब त कसैकसैले थोरै पाखो बारीमा मात्र लगाउने स्थितिमा पुगेको छ । रासस