काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले यौनकर्मीका सम्बन्धमा बृहत् अनुसन्धान हुनुपर्नेमा जोड दिएकी छन्।
राजधानी काठमाडौंमा मङ्गलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रेग्मीले यस पेसामा रहेकालाई रोजगारीका वैकल्पिक माध्यमसँग जोड्न वा अन्य व्यवस्थापनका सम्बन्धमा अनुसन्धान गर्नुपर्नेमा जोड दिइन्। उनले पेसा व्यवसायकै कारण यौनकर्मीहरू दुर्व्यवहारको सिकार भइरहेका तथ्य आउने गरेको बताईन्।
‘उनीहरूबाट जन्मने बालबालिकाको जन्मदर्ता, नागरिकताको समस्या हुनेलगायतका विविध समस्या देखिएकाले सरोकारवाला निकायको सामूहिक पहलबाट परिणामुखी काम गर्नु पर्ने देखिएको छ,’ उनले भनिन्। यस्तै राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिनाले यौनकर्म वा पेसाको स्पष्ट नीतिबारे राष्ट्रियस्तरमै बहस हुनुपर्ने बताए। उनले यसमा स्पष्ट परिभाषा नै खोज्नुपर्ने अवस्था रहेकोमा जोड दिए।
संसदको कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले मुलुकी संहितामा यौनकर्मीको मानव अधिकारको रक्षा, अधिकारबारे केही बुँदा समावेश गरिएको बताए। राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले समाजमा महिला हिंसा, बलात्कारलगायत अभद्र व्यवहार भएपछि आयोगमा समस्या लिएर आउनेको संख्या धेरै रहेको बताईन्।
उनले यस पेशामा स्वतन्त्र रूपमा संलग्न हुनेका लागि कानुनमा सजाय सम्म नतोकिएको बताउईन्। तर प्रशासनले महिलालाई मानव बेचबिखनमा संलग्न भएको वा सार्वजनिक अपराध गरेको भन्दै सजाय गर्ने र यौन पेशाका ग्राहक पुरूष भने सधैं उम्किने गरेको उनको भनाई थियो।