काठमाडौँ- नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराई काठमाडौँ ७ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने भएकी छिन् । माओवादी केन्द्र र नेसपाबीच एउटै निर्वाचन चिह्नमा संयुक्त रूपमा लड्ने सहमति भइसकेको छ । तर, ती दुई दलबिच सिट बाँडफाँड भने टुंगिसकेको छैन ।
सत्ता गठबन्धनमा काठमाडौँ ७ माओवादीले पाउने र त्यहाँ मानुषीलाई अगाडि सार्ने माओवादी अध्यक्ष प्रचण्डको तयारी छ । स्रोतका अनुसार प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि मानुषीप्रति सकारात्मक छन् ।
गठबन्धनका शीर्ष नेताको सकारात्मक सङ्केतपछि उनले निर्वाचन तयारीसमेत थालिसकेकी छिन् । महिला र अध्ययनशील युवाको प्रतिनिधित्व गर्दै निर्वाचन तयारीमा जुटेको उनले बताइन् ।
शीर्ष नेता आफूप्रति सकारात्मक रहेको उनको दाबी छ । माओवादीले काठमाडौं ७ बाट मानुषी, २ बाट पूर्व सभामुख ओनसरी घर्ती र ३ बाट स्वतन्त्र रूपमा कुलमान घिसिङलाई उम्मेदवार बनाउन चाहेको छ ।
९ मा हितमान शाक्य र ६ मा हिमाल शर्माले दाबी गरेका छन् । काठमाडौँ ७ मा जसपाका नेता तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले पनि दाबी गरेका छन् ।