चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि विधिवत् रूपमा सुरु हुँदैछ। भरतपुरको गेस्टहाउस चौरमा आयोजना हुने विशेष समारोहका बीच पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) ले महाधिवेशनको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
व्यवस्थापन र तयारी पूरा
महाधिवेशनलाई व्यवस्थित, प्रविधिमैत्री र प्रतिनिधिमूलक बनाउन आवश्यक सम्पूर्ण आन्तरिक व्यवस्थापन पूरा भइसकेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। उनका अनुसार महाधिवेशन स्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनका लागि १८ वटा उपसमितिहरू सक्रिय रूपमा परिचालन गरिएका थिए। देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिहरूबाट प्रतिनिधि छनोटको प्रक्रिया समेत शतप्रतिशत सम्पन्न भइसकेको छ।
केन्द्रीय समिति १५१ सदस्यीय बनाउने निर्णय
महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार चितवनमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले साङ्गठनिक संरचना र विधानमा व्यापक परिमार्जन गरेको छ। सचिवालयको प्रस्ताव अनुसार अब रास्वपाको केन्द्रीय समितिलाई परिमार्जन गरी १५१ सदस्यीय बनाउने निर्णय भएको छ। नयाँ व्यवस्थाअनुसार प्रदेश सभापतिहरू स्वतः केन्द्रीय समितिको पदेन सदस्य रहनेछन्।
पदाधिकारीमा महिला कोटा अनिवार्य
संशोधित विधानको सबैभन्दा महत्वपूर्ण पक्ष पदाधिकारीमा महिला सहभागितालाई सुनिश्चित गरिनु हो। नयाँ संरचनाअनुसार पार्टीमा अब एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति (एक महिला अनिवार्य), दुई महामन्त्री, पाँच सहमहामन्त्री (एक महिला अनिवार्य), एक प्रवक्ता, तीन सहप्रवक्ता (एक महिला अनिवार्य), एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष (एक महिला अनिवार्य) रहनेछन्। यसअघिको विधानमा पदाधिकारीमा महिलाको उपस्थिति अनिवार्य नगरिएकोमा यसपटक ऐतिहासिक सुधार गरिएको हो।
९९ सदस्य खुला प्रतिस्पर्धाबाट, ५१ जना मनोनयन
नयाँ व्यवस्था अनुसार १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना सदस्यहरू खुला प्रतिस्पर्धा (निर्वाचन) मार्फत चयन हुनेछन्। बाँकी ५१ जना केन्द्रीय सदस्यहरू भने बृहत् राजनीतिक समायोजन र समावेशितालाई ध्यानमा राखेर पार्टी सभापतिले मनोनयन गर्नेछन्। सभापतिले मनोनयन गर्ने सदस्यहरूमा प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित ५–५ जना केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था गरिएको छ।
३,९१८ प्रतिनिधि सहभागी, संगठन वडास्तरसम्म पुग्ने
यस ऐतिहासिक महाधिवेशनमा देशभर र प्रवासबाट गरी कुल ३ हजार ९१८ जना प्रतिनिधिहरू सहभागी हुँदैछन्। यसमध्ये ३०० जना प्रतिनिधिहरूलाई मनोनयन गर्ने जिम्मेवारी पार्टीका दुई महामन्त्रीलाई दिइएको छ। रास्वपाले हालसम्म देशभर आफ्ना साधारण सदस्यको संख्या ५ लाख पुर्याएको छ भने ६१० पालिका र ४ हजार ६३ वडाहरूमा अधिवेशन सम्पन्न गरिसकेको छ।
टोलस्तरसम्म संगठन विस्तारको लक्ष्य
महाधिवेशनले पार्टीको आगामी नीतिगत प्रस्ताव, विधान संशोधन र भावी राजनीतिक कार्यदिशा तय गर्ने प्रवक्ता मनिष झाले बताए। रास्वपाले निर्वाचनमा प्राप्त जनमतलाई पार्टीको 'आम्दानी' का रूपमा व्याख्या गर्दै अब टोलस्तरसम्म संगठन विस्तार गर्ने रणनीति लिएको छ। यद्यपि, परम्परागत दलहरूको जस्तो आफ्नो कुनै पनि भ्रातृ संगठन भने नहुने नीतिलाई रास्वपाले निरन्तरता दिएको छ।