×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ/वाणिज्य

लघुवित्त संघले बुझायो अर्थमन्त्रीलाई ज्ञापनपत्र, लघुवित्त कोष स्थापना गर्न माग

लघुवित्त संघले बुझायो अर्थमन्त्रीलाई ज्ञापनपत्र, लघुवित्त कोष स्थापना गर्न माग

काठमाडौं - लघुवित्त संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मासगँ भेट गरि बिभिन्न माग सहितकाे ज्ञापनपत्र बुझाएकाे छ । संघको प्रतिनिधिमण्डल र अर्थमन्त्री जनार्दन शर्माबीच आइतबार मन्त्रालयमा भएको छलफलमा बोल्ने वक्ताहरुले विपन्न र गरिब जनताहरुको वित्तीय पहुँच बढाउन नेपालका लघुवित्तहरू सफल रहेको भन्दै सरकारले लघुवित्तलाइ प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन् । लघुवित्त क्षेत्रकाे दिगाे विकासका लागि सरकारले लघुबित्त काेष स्थापन गर्नका लागि संघका प्रतिनिधिमण्डल सदस्यहरूले माग गरेका हुन् । 

अर्थमन्त्रीसगँकाे भेटघाटका क्रममा  बोल्दै संघका अध्यक्ष जगत बहादुर पोखरेलले लघुवित्तले गाउँगाउँमा पुगेर सरल तथा सहज ढंगबाट वित्तीय सेवा प्रदान गरिरहेको बताउँदै राज्यले प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । सरकारका पूर्व सचिव तथा लघुवित्तका अध्येता डा. मानबहादुर विश्वकर्माले गाउँगाउँमा रहेको पुँजीलाई चलायमान बनाउन तथा गरिब तथा विपन्न वर्गलाई वित्तीय सेवा प्रदान गर्न नेपालमा लघुवित्त कम्पनीहरुको योगदान महत्वपूर्ण रहेको बताए । ‘बैंकमा गएर धितो राखेर ऋण लिन नसक्ने जनतालाई माइक्रो फाइनान्सले कर्जा प्रवाह गर्दै उद्यमशीलता बृद्धिमासमेत योगदान पुर्याइरहेका छन्,’ उनले भने

नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि गरेको निर्देशन लगायतका अन्तर्राष्ट्रिय प्रतिवद्घताहरु पुरा गर्न, सरकारले जारी गरको ‘राष्ट्रिय लघुवित्त नीति २०६४’, आवधिक योजना र वित्तीय समावेशीकरण तथा वित्तीय पहुँच समन्धी कार्य नीति र कार्य योजना पूर्ण रुपमा कार्यान्वयन गर्न, सरकारले जारी गरेको राष्ट्रिय लघुबित्त नीति २०६४ मा व्यवस्था भए बमोजिमको कोषका स्थापना गर्न माग गरिएको छ ।

लघुवित्त संस्थाहरुको कार्य प्रकृति नै अन्य बैंक नपुगेका तथा अति विपन्नलाई सामाजिक मध्यस्थता सहितसेवा पुर्याउने रहेकाले यसमा लाग्ने संस्थागत कर अरुलाई लाग्ने आधार समूह सदस्यको बचतको व्याज आयमा कर नलाग्ने व्यवस्था हुनुपर्ने लगायत विषयमा संघले ध्यानाकर्षण गराएको छ । लघु बिमा, लघु वित्त सेवाको एउटा महत्वपूर्ण र अभिन्न हिस्सा रहेकाले बिमा समितिले बिमा कम्पनीहरुलाई आफूले गरेको विमाङ्कको कम्तिमा ५ प्रतिशत लघु बिमा गर्नुुपर्ने व्यवस्था भएकाले संस्थामा आवद्घ व्यक्तिको जीवन रक्षा र जिविकोपार्जनको बिमा गर्ने र बिमा कम्पनीहरुले पुनर्विमा सेवा दिनुपर्ने मागसमेत एसोसिएसनको गरेको छ । एसोसिएसनको मागप्रति आफू सकारात्मक रहेको अर्थमन्त्री शर्माले बताए । आवश्यक अध्ययन पछि राष्ट्रबैंकसँग समन्वय गरेर आफू अगाडि बढ्ने उनको भनाइ छ ।

उक्त अवसरमा संघको तर्फबाट अध्यक्ष पोखरेल, संघका संचालक तथा सुपर लघुवित्तका अध्यक्ष किरण चाैधरी,ओमी माइक्रोफाइनान्सका सञ्चालक बिमला उपाध्याय घिमिरे,पूर्व सचिव विश्वकर्मासहित लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा, फस्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेल, मेराे माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहाल,आरम्भ चौतारी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्मा लगायत करिब १८ लघुवित्तका प्रतिनिधीहरूकाे सहभागीता रहेकाे थियाे । 

नेपालमा लघुवित्त वित्तीय संस्थाहरुले विगत ३ दशकदेखि सेवा प्रदान गर्दै आइरहेका छन् । माइक्रो फाइनान्सहरु गाउँहरुमा बैकिङ पहुँच, महिला सशक्तीकरण र उद्यमशीलता विकास गरि गरीबी न्यूनीकरण गर्ने उद्देश्यका साथ क्रियाशील रहेको अध्यक्ष पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस्