×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाडौं - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री कार्की गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण कार्कीले आज विश्वासको मत लिन लागेको बताउनुभएको हो। उहाँले विश्वासको मत नपाउने अवस्था अहिले नै नदेखिएको भन्दै असोज २० गते विश्वासको मत दिन प्रदेश सभामा आह्वान समेत गर्ने बताउनुभयो ।
 
कार्कीले विश्वासका मत लिने तयारी गरिरहँदा कोशी प्रदेशका प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बताउनुभएको छ । उहाँले मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउँदा अर्को व्यवस्थाअनुसार बहुमत सदस्यको हस्ताक्षरसहित गठबन्धनको सरकार बनाएर नै जाने बताउनुभयो ।
 
नेकपा एमालेसँग निर्वाचनमा सहकार्य र सत्ता साझेदार गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले पनि नेकपा एमालेले बहुमत पुर्‍याउने भएमा समर्थन गर्न सकिने यसअघि नै बताउनुभएको थियो । यसअघि प्रदेशसभामा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ मत गरी मुख्यमन्त्री कार्कीले ४६ मत पाउनुभएको थियो ।
 
तर यस पटक उपसभामुखले मत हाल्न नपाउने अवस्थामा एमालेसँग ३९ मत मात्रै रहनेछ । त्यसका लागि गठबन्धन दल नेपाली कांग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ मत रहेका कुनै एक दललाई आफूतिर तान्नु पर्ने बाध्यता रहेको छ । जसपाको १ मत तानेर पनि एमालेले विश्वासको मत पुर्‍याउन नसक्ने अवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस्