बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा खेपिरहेका पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
विशेष अदालतले थुनछेक बहसपछि बुधबार गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएकोमा सो रकम बुझाएर उनी रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले मकालुखबरलाई जानकारी दिए ।
पटक-पटक मुद्दाको म्याद बुझ्न अस्वीकार गरेका गच्छदार बुधबार बिहान विशेष अदालत पुगेका थिए । त्यसपछि उनको थुनछेकको बहस भएको थियो ।
ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले गच्छदारसँग ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
यसअघि पटक पटक म्याद तामेली गर्दा पनि अनुपस्थित रहँदै आएका गच्छदार कांग्रेसको सरकार बनेको भोलिपल्टै अदालतमा हाजिर भएका हुन् ।
गतवर्ष फागुनमा विशेषले १५ दिनभित्र अदालत उपस्थित हुन म्याद पठाएपनि गच्छदार ‘फरार’ भएका थिए । अदालतले गच्छदारको काठमाडौंको स्थायी ठेगानामा पटकपटक म्याद जारी गरेको थियो । यसअघि सुनसरीमा म्याद तामेल भएको थियो ।