काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। पुस १० मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि समर्थन गरेको थियो।
यसबारे औपचारिक निर्णय भने सभापति रवि लामिछानेेले केही बेरमा सुनाउने तयारी गरेका छन्।
चार महिनापछि समर्थन फिर्ता लिएको रास्वपाका नेताहरुले बताएका छन्। पार्टी कार्यालय बसुन्धारामा बैठक बसेको थियो। वैशाख १० मा सम्पन्न प्रतिनिधि सभाको उप निर्वाचनपछि रास्वापाले सरकारमा जाने नजानेबारे निर्णय गरेको थिएन।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रास्वपालाई सहभागी गराउन पहल गरेका थिए। रास्वपाले उप निर्वाचनमा चितवन-२ र तनहुँ-१ मा चुनाव जितेको थियो। अहिले २१ सांसद रहेको रास्वपा प्रतिनिधि सभाको चौथो ठूलो दल हो।