काठमाडाैँ- नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सम्पन्न भएको छ । सिंहदरबारमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा मतदान सम्पन्न भएको हो ।
दलको नेता बन्न सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् । मंसिर ४ गते भएको निर्वाचनबाट निर्वाचित ८९ जना सांसदहरुले आज मतदान गरेका हुन् । सिंहदरबारमा भौतिक रुपमा ने उपस्थित भएर ८७ जनाले मतदान गरेका थिए ।
समानुपातिकतर्फबाट निर्वाचित भएकी भोजपुरकी माया राईले भने अस्पतालबाट मतदान गरेकी छिन् । सुत्केरी रहेकी राईले चाबहिलमा रहेकोझ ओम अस्पतालबाट मतदान गरेपछि मतदान प्रक्रिया सकिएको हो ।
मनाङबाट निर्वाचित टेकबहादुर गुरुङले भोट हाल्न पाएनन् । अदालतमा मुद्दा विचाराधीन रहेकाले संस्थापन पक्षका उनी मतदानमा सहभागी नभएका हुन् । मतदान सकिएपछि अब केहीबेरमा नै मतगणना गर्ने तयारी छ । मतदानबाट निर्वाचित कांग्रेसको संसदीय दलको नेताको नाम आजै घोषणा हुनेछ ।