काठमाडौं- अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मार्फत सरकारले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा विरोध जनाएको छ। बुधबार प्रतिनिधि सभाको बैठक सुरु हुनुबित्तिकै एमाले सांसदहरुले उठेर ध्यानाकर्षण गरेका थिए।
सभामुख अग्नि सापकोटाले बोल्ने समय दिएपछि आफ्ना धारणा राख्दै एमाले सांसद् प्रदीप ज्ञवालीले नेपाली सेनामाथि अपमान हुने गरी अमेरिकासँग सम्झौता गर्ने कोसिस भइरहेको भन्दै आपत्ति जनाए। पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले सम्झौताले नेपालको सार्वभौम सत्तामा पनि असर पर्ने दाबी गरे।
एसपीपी सम्झौतामा उल्लेख भएअनुसारका सैनिक अभ्यासका लागि चीनकै छेउमा (हिमालय क्षेत्र)मा गर्ने भनि प्रस्ताव आएकाले यो आपत्तिकजनक रहेको ज्ञवालीले उल्लेख गरे। ‘भारतले कोशीमा राखेको सम्पर्क कार्यालय हटाउन हामीलाई १२ वर्ष लाग्यो। अनि हामी यस्ता सैन्य क्याम्पहरु हटाउन सक्छौं रु’ उनले भने, ‘यो हाम्रो स्वतन्त्र परराष्ट्र नीतिको विरुद्ध र संविधान विरुद्ध छ।’ उनले विगतमा रोकिएको यस्तो प्रस्ताव संसद्मा किन जानकारी नदिइएको भन्दै सरकारको जवाफ पनि माग गरे।