×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दीपेन्द्रले उत्कृस्ट ब्याटिंग गरेपछि नेपालले युएईलाइ हरायो

दीपेन्द्रले उत्कृस्ट ब्याटिंग गरेपछि नेपालले युएईलाइ हरायो

काठमाडौं-युएईलाई पराजित गरेर जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि नेपालले आयरल्यान्डसँगको भेट पक्का गरेको छ ।

जिम्बावेको हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको हो ।

युएईले दिएको १ सय ८२ रनको लक्ष्य नेपालले ४३ दशमलब २ ओभरमा७ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ८५ बलमा ७ चौका र २ छक्काको सहयोगमा अविजित ७९ रनको अर्धशतकीय ईनिङ खेले । ६३ रनमा ६ विकेट गुमाईसकेको नेपालका लागि दीपेन्द्र र गुलसन झाले सातौं विकेटका लागि ४६ बलमा ४३ रनको साझेदारी गरेर नेपाललाई खेलमा फर्काउने कोसिस गरे ।

गुलसन १२ रन बनाउँदै रोहन मुस्ताफाको बलमा आउट भएसँगै साझेदारी तोडिएको थियो । आठौं विकेटका लागि दीपेन्द्रले सन्दीप लामिछानेसँग मिलेर ९० बलमा ७९ रनको विजयी साझेदारी गरे । सन्दीपले ३७ बलमा २ चौकाको साथमा अविजित २३ रन बनाए ।

युएईका लागि मुहम्मद जवादुल्लाहले ३ तथा रोहन मुस्ताफा, सन्चित शर्मा, जुनेद सिद्दिकी र अलि नासेरले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको थियो ।

युएईका लागि यस खेलमा कप्तानी गरिरहेका वृत्य अरबिन्दले ७५ बलमा ४ चौकाको सहयोगमा ४४ रन बनाए । वृत्य गुलसन झाको बलमा बोल्ड आउट भएका थिए ।

युएईका ओपनर आसिफ खान इनिङको दोस्रो बलमा नै करण केसीको बलमा शुन्य रनमा पेभिलियन फर्किएका थिए । दोस्रो विकेटका लागि आर्यांश शर्मा र वृत्यले ८८ बलमा ६४ रनको साझेदारी गरी युएईलाई खेलमा फर्काउने कोसिस गरेका थिए ।

तर, शर्मा ४३ बलमा ३ चौकाको सहयोगमा २८ रन बनाउँदै सन्दीप लामिछानेको बलमा आउट भएसँगै साझेदारी तोडिएको थियो ।

पाँचौ विकेटका लागि रोहन मुस्ताफ र बसिल हमिदले ७२ बलमा ५८ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । मुस्ताफा ५६ बलमा ३५ रन बनाउँदै आउट भएसँगै सो साझेदारी भङ्ग भएको थियो । हमिदले ३५ बलमा २९ रन बनाए ।

संचित शर्मा १४ बलमा १२ रन तथा रमिज शाहजादले २८ बलमा १० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३/३ तथा प्रतिस जि.सी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए ।

जितसँगै नेपालले सातौं स्थानको लागि मंगलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

पराजित युएईले भने नवौं स्थानका लागि बिहीबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस्