पोखरा, मिर्गौला पीडितको नाममा पैसा उठाएर ठगी गरेको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन् । धरानमा यूनिक स्वयंसेवक नेपाल नामको संस्था दर्ता गरेर उनीहरूले पाल्पाका ३५ वर्षीय चुडाबहादुर रुचालको उपचारका लागि चन्दा उठाएको खुलेको हो ।
संस्थाकी अध्यक्ष झापा विर्तामोडकी ३४ वर्षीया एलिजा बस्नेत, सदस्यहरू झापा हल्दिबारीका ४४ वर्षीय धनबहादुर सेन्चुरी र ३२ वर्षका टेकबहादुर बस्नेत पक्राउ परेका हुन् ।
उनीहरूलाई पोखरा २६ विजयपुरबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । यसअघि पनि उनीहरुले विभिन्न १२ जनाको नाममा चन्दा उठाएको खुलेको छ । चितवन, तनहुँ, दैलेख, सुनसरी, रुपन्देही, नवलपुर, पाल्पा, स्याङजालगायत जिल्लाबाट अनुमतिबिना चन्दा बटुलेर ठगी गरेको प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।
‘चन्दा संकलनका लागि समूह बनाएर दैनिक १० वटासम्म ट्याम्पो भाडामा लिएर विभिन्न ठाउँमा पुग्ने गरेको भेटियो,’ उनले भने । उनीहरूको साथबाट चन्दा उठाउन प्रयोग गरिएका रसिद, पर्चा तथा ४ लाख ६ हजार नगद बरामद भएको हमालको भनाइ छ । चन्दा ऐन २०३० अन्तर्गत कास्की जिल्ला अदालतबाट दिन पाँच (५) म्याद थप गरी अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।