×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

डा. रूइतलाई प्रतिष्ठित इसा पुरस्कार

डा. रूइतलाई प्रतिष्ठित इसा पुरस्कार

काठमाडौं -  वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई मानवता सेवाका लागि इसा पुरस्कार प्रदान गरिने भएको छ । नेपालमा सस्तो उपचार विधिबाट रोकथाम गर्न सकिने अन्धोपनाको दर आधाले घटाएर मानवता सेवा गरेका आधारमा बहराइनको उच्च अवार्ड प्रदान गरिने भएको हो ।   

बहराइन राज्यले हरेक दुई वर्षमा प्रदान गर्ने प्रतिष्ठित पुरस्कार स्वर्ण पदक र १० लाख डलर रहेको  छ । यो पुरस्कार विपत् रोकथाम र राहत, शिक्षा र मानव सहिष्णुतालगायत ११ वटा विधामध्येबाट प्रदान गरिन्छ । 

पुरस्कारका लागि यस वर्ष मनोनीतहरूमध्ये डब्ल्यूएचओ फाउन्डेसन पनि रहेकोमा निर्णायकहरूले डा. रुइतलाई छनोट गरेका थिए । मोतीबिन्दुको शल्यक्रिया गरी एसिया र विश्वका अन्य भागमा एक लाख ८० हजारभन्दा बढी मानिसलाई दृष्टि दिन मद्दत गरेका आधारमा डा. रुइतलाई पुरस्कार प्रदान गरिएको गल्फ न्युजले जनाएको छ ।

उक्त घोषणा गर्दै बहराइनका राजाका विशेष प्रतिनिधि र बोर्ड अफ ट्रस्टिजका अध्यक्ष शेख मोहम्मद बिन मुबारक अल खलिफाले यस वर्ष अवार्डका लागि १३९ मनोनयनमा परेको जानकारी दिनुभयो । “नेपाली नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई उहाँको समुदायको सेवा र उपलब्धिका लागि सम्मान गरिएको छ,” उहाँले भन्नुभयो ।

मानवताको सेवाका लागि इसा अवार्डका महासचिव अली अब्दुल्लाह खलिफाले डा. रुइतलाई मोतीबिन्दुको उपचारमा अभिनव दृष्टिकोण राखेर उक्त पुरस्कार प्रदान गरिएको बताउनुभयो । 

प्रतिकृया दिनुहोस्