काठमाडौँ- नेकपा एमालेले हालै सम्पन्न स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी नबनेको दाबी गरेको छ । पार्टीका महासचिव शङ्कर पोखरेलले जनमतका आधारमा एमाले पहिलो र काँग्रेस दोस्रो भएको बताए । आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा पोखरेलले गठबन्धन बनाएर चुनाव जितेको काँग्रेसलाई पहिलो पार्टी भन्न नमिल्ने तर्क गरे ।
उनले भने, ‘हामीले गठबन्धनसँग चुनाव हारेको साँचो हो । तर, गठबन्धन बनाएर चुनाव जितेको काँग्रेस पहिलो भयो भन्ने व्याख्यासँग हामी सहमत छैनौँ । गठबन्धन पहिलो भन्दा हामी मान्छौँ । स्थानीय चुनावमा गठबन्धन पहिलो र एमाले दोस्रो भएको सत्य हो । तर, पार्टीगतरूपमा काँग्रेस पहिलो होइन । जनमतमा काँग्रेस एमालेभन्दा पछाडि छ । त्यसैले एमाले पहिलो र काँग्रेस दोस्रो हो । चुनाव लड्दा गठबन्धनबाट लड्ने पार्टी काँग्रेस पहिलो भयो भन्न मिल्दैन । हामी त्यसको प्रतिवाद गर्छौँ ।’