धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ (भोली) विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले शुक्रबार प्रदेशसभा सचिवालयलाई २१ गते विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै पत्र पठाएका छन् ।
सभामुख भीमबहादुर भण्डारीले आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी व्यवस्थापन भइरहेको जानकारी दिए ।
२६ माघमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले पनि अहिले सम्म विश्वासको मत लिएका थिएनन् । अब २१ गते विश्वासको मत लिने उनको तयारी छ ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा शाहले विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । केन्द्रमा फेरिएको समीकरणले उनी सुरक्षित छन् । यहाँ कांग्रेसका १९ र नेकपा एकीकृतका ४ सांसद छन् ।
यी दुई दल अहिले सरकारमा समेत समेटिएको छ । केन्द्रमा माओवादी र नागरिक उन्मुक्ति पनि मिसिएपछि शाह सरकार सुरक्षित भएको हो । सुदूरपश्चिममा माओवादीको सभामुख सहित ११ र नागरिक उन्मुक्तिको ७ सांसद छन् ।