काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौँ महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य टुङ्गो लगाए पनि पदाधिकारीको भने अझै टुङ्गो लगाउन सकेको छैन । सहमतिबाटै केन्द्रीय सदस्य चयन र अध्यक्ष चयन गरेको माओवादीलाई पदाधिकारी चयन भने पेचिलो बन्दै गएको हो ।
माओवादी केन्द्रले यही २७ बस्ने केन्द्रीय समितिको बैठकले पोलिट्ब्युरो, पदाधिकारी तथा स्थायी समिति चयन गर्ने जनाएको छ । उसले सहमति प्रणालीमा नै पदाधिकारी चयन हुने जनाइएको हो । माओवादीको काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न आठौँ महाधिवेशनबाट खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना गरी दुई सय ३६ जना केन्द्रीय सदस्य सहमतिमार्फत चयन गरेको थियो ।
माओवादी अध्यक्षमा पुष्पकमल दाहाल सर्वसम्मतबाट चयन भएपनि २७ गतेको केन्द्रीय समितिको बैठकले पदाधिकारी टुङ्गो लगाउने भएको हो । केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने भएपनि अध्यक्ष मात्रै सर्वसम्मतबाट चयन भएकाे बताउँदै पूर्व स्थायी समिति सदस्य समेत रहेको नेता लीलामणि पोखरेल भन्छन्, ‘पदाधिकारी चयनमा पनि प्रमुखतः सहमति प्रणाली हुन्छ । मतदान नै नगर्ने भनेको होइन तर निर्वाचन भए ठिक र नभए बेठिक भन्ने हुन्न । एउटा विधि मतदान गर्ने भएजस्तै नोमिनेसन पनि नेतृत्व छनोट गर्ने प्रणाली हो ।’ नेतृत्वले कार्यकर्ताको मूल्याङ्कन गर्ने उनको भनाई छ ।
अरू पार्टीहरूको केही समय पहिले महाधिवेशनको उदाहरण दिँदै उनले भने, ‘निर्वाचनको प्रतिस्पर्धाले कतिपय अवस्थामा विकृति पनि जन्माउँछ धेरै खर्च हुन्छ । सबै यही ढङ्गले हुन्छ भन्ने होइन तर, प्रतिस्पर्धामा अरू प्रक्रिया घुस्न सक्छ जुन सहमति प्रणालीमा कम हुन्छ ।’
माओवादीको विधान अनुरूप दुई सय ९९ जना केन्द्रीय समितिको व्यवस्था छ । केन्द्रीय समितिको एक तिहाइ पोलिट्ब्युरो, पोलिट्ब्युरोको एक तिहाइ स्थायी समिति र यसको एक तिहाइ पदाधिकारी सङ्ख्या रहनेछ । तर कल्ष्टर मिलाएर महिलाको कोटा पुगेको छैन । कोभिड – १९ सङ्क्रमण बढेपनि माघ २७ गते भर्चुअलबाट पनि टुङ्ग्याउने भन्ने रहेको निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठ बताउँछन् । विशेषगरी, महासचिवमा पुन र शर्मा प्रतिस्पर्धी देखिएपनि सहमतिमा नै पदाधिकारी चयन हुने उनले भने ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकाल पनि सहमतिमा नै पदाधिकारी चयन हुनेमा विश्वास व्यक्त गरे । भर्खरै वर्षमनजी नेपाल आउनुभएको छ, बिस्तारै छलफल र गृहकार्य चलिरहेको उनको भनाई छ । ‘सबैमा सहमतिमा नै टुङ्ग्याउँदै आएका छौँ, पदाधिकारी पनि सहमतिमा टुङ्गिन्छ,’ ढकालले भने ।
आगामी केन्द्रीय समितिको बैठकले सहमतिमार्फत नै पोलिट्ब्युरो, स्थायी तथा पदाधिकारी टुङ्गो लगाउने हुँदा सकेसम्म भर्चुअल बैठकलाई भने प्राथमिकता नदिइएको पनि नेताहरूको भनाई छ । यसैगरी, निर्वाचन आयोगमा विष्णुपुकार श्रेष्ठ, लेखा आयोगमा पेशल खतिवडा र अनुशासन आयोगमा टंक राईलाई भने माओवादी केन्द्रले अनुमोदन गरिसकेको छ ।
बैंकक र चीनमा झण्डै चार महिना स्वास्थ्य उपचार गरी माघ १० गते स्वदेश फर्किएका माओवादी नेता वर्षमान पुन र अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा महासचिव पदका बलियो दाबेदारको रूपमा छन् । पदाधिकारीमा अध्यक्ष पछिको कार्यकारी पद महासचिव रहेको छ ।
0