काठमाडौँ । सानो उमेरमै प्रेरक वक्ताका रुपमा चर्चित बनेकी पाल्पाली चेली ओजस्वी आचार्य ‘चैतन्य युवा प्रतिभा सम्मान’ बाट सम्मानीत भएकी छिन् । गैर आवासिय नेपाली संघ (एनआरएनए) का एम्बेस्डर, सशस्त्र प्रहरी बल नेपालको लागुपदार्थ दुर्वेशन विरुद्ध जागरण दूत समेत रहेकी आचार्यलाई चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा सम्मानित गरिएको हो ।
पाल्पाको तानसेन ९ दमकडामा कक्षा ९ मा अध्ययनरत आचार्यलाई नगद १५ हजार ५५५सहित “चैतन्य युवा प्रतिभा सम्मान” प्रदान गरिएको हो । नेपाली पहिचान, राष्ट्रिय एकता र सामाजिक सद्भाव प्रवद्र्धनमा पु¥याएको योगदानको कदर स्वरूप साहित्यकार तथा सञ्चारकर्मी डा।नवराज लम्साल, चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा, पाठशालाका अध्यक्ष तथा हार्दिक नेपालका संयोजक गणेश प्रसाद जोशीले संयुक्त रुपमा सम्मान पत्र र मायोको चिनोसहित आचार्यलाई सम्मान गर्नुभएको हो ।
वाक्कला, काव्य प्रस्तुति तथा युवामुखी प्रेरणादायी कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आउनुभएकी आचार्यले नेपाली भाषा, साहित्य र राष्ट्रिय चेतनालाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्दै आएको चैतन्य पाठशालाका अध्यक्ष जोशीको भनाइ छ । उहाँमा बहु आयामिक प्रतिभा र सामाजिक अभियन्ताको भूमिकाले युवा पुस्तामा आत्मविश्वास र देशप्रतिको जिम्मेवारी भाव जागृत गराएको बताउनुभयो ।
सम्मान ग्रहण गर्दै आचार्यले चैतन्य पाठशालाले प्रदान गरेको सम्मानलाई प्रेरणा मानेर आगामी दिनमा नेपाली पहिचान, युवा शक्ति र सामाजिक सद्भावका लागि निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले युवाहरूलाई सीप, सृजनशीलता र सकारात्मक सोचमार्फत समाज रूपान्तरणमा सहभागी हुन समेत आग्रह गर्नुभयो ।
विद्यार्थीलाई सृजनशील, राष्ट्र प्रेमी र जिम्मेवार नागरिक बनाउने उद्देश्यका साथ यस्ता प्रेरणादायी व्यक्तित्वलाई सम्मान गर्ने परम्परा चैतन्य पाठशालाले अघि बढाएको प्राचार्य प्रेमनिधि ओझाले बताउनुभयो । उहाँले विद्यार्थीको प्रतिभा र प्रयासले विश्वभर नेपालीको पहिचान स्थापित गर्न सकिन्छ भन्ने सन्देश दिन महोत्सव गर्ने गरेको बताउनुभयो ।