काठमाडौं- सत्ता गठबन्धनमा रहेका चार दलका शीर्ष नेताहरू बालुवाटारमा छलफलमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सामूहिक छलफलमा जुटेका छन् ।
सत्ता गठबन्धनका शीर्ष नेताहरू साँढे ३ बजेदेखि बालुवाटारमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले दिएको जानकारीअनुसार चुनावी समीक्षा र नयाँ सरकार गठनबारे आज सामान्य रूपमा छलफल हुनेछ ।
कांग्रेसले आफ्नै नेतृत्वमा सत्ता गठबन्धनमा रहेका दलहरूलाई साथै लिएर अन्य दलको सहयोग जुटाएर नयाँ सरकार बनाउन पहल गरिरहेको छ । प्रत्यक्षतर्फ प्रतिनिधि सभामा कांग्रेसले ५७, माओवादीले १८, एकीकृत समाजवादीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ क्षेत्र जितेका छन् ।