काठमाडौं- दीपेन्द्र के खनाल निर्देशित फिल्म 'के घर के डेरा' आजबाट दोस्रो सातामा प्रदर्शन भइरहेको छ।
दोस्रो सातामा पनि फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ। फिल्मले पहिलो साता ३ करोड ६३ लाख कमाएको छ।
निर्माण कम्पनी ए प्लस इन्टरटेन्मेन्ट प्रालिले शुक्रबार एक विज्ञप्ती जारी गर्दै फिल्मको व्यापारबारे जानकारी दिएका हुन्।
'यही कात्तिक ४ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘के घर के डेरा’ सफलताका साथ दोस्रो सातामा प्रवेश गरी लगानी सुरक्षित गर्न सफल भएको छ,' उक्त विज्ञप्तीमा उल्लेख छ।
फिल्मले तिहारको बिदामा दर्शकको उल्लेखनीय साथ पाएको हो।
घर र डेरावालाकाे संघर्षकाे कथालाई देखाइएकाे फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री, बाल कलाकार आयुशी ढकाल लगायतको अभिनय छ।
ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्म निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन्। सिंगे लामाको कथा रहेको फिल्ममा दीर्घ गुरुङको छायांकन र दीर्घ खड्काको सम्पादन छ।