काठमाडौँ - स्थापनाकालदेखि नै निर्वाचनमा ‘नो भोट’ (राइट टु रिजेक्ट) को व्यवस्था हुनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नै पहिलो महाधिवेशनमा भने यसलाई लागु गर्न असफल भएको छ। भरतपुरमा जारी महाधिवेशनअन्तर्गत ९९ जना केन्द्रीय सदस्यका लागि बुधबार राति भएको मतदानमा ‘नो भोट’ को व्यवस्था नगरिएपछि पार्टीको नारा र व्यवहारमा विरोधाभास देखिएको हो।
विद्युतीय मेसिनमा ‘नो भोट’ नहुँदा प्रतिनिधिहरूको नाराबाजी
नुवाकोटका राम-लक्ष्मण खनालले निर्माण गरेको विद्युतीय मतदान मेसिन प्रयोग गरिए पनि पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले उठाउँदै आएको ‘नो भोट’ को विकल्प त्यसमा समावेश गरिएन। आफ्नै प्रमुख एजेन्डालाई नेतृत्वले लत्याएको भन्दै आक्रोशित महाधिवेशन प्रतिनिधिहरूले बुधबार राति महाधिवेशनस्थलमै नेतृत्वविरुद्ध नाराबाजी समेत गरे।
पदाधिकारी निर्वाचनमा ‘नो भोट’ राख्न सागर ढकालको माग
केन्द्रीय सदस्यको निर्वाचनमा ‘नो भोट’ नहुँदा रास्वपा नेता एवं सांसद सागर ढकालले गम्भीर निराशा व्यक्त गरेका छन्। केन्द्रीय सदस्यमा सम्भव नभए पनि अब हुने पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ अनिवार्य लागु गर्न नेतृत्वसँग माग गर्ने उनले बताए। पार्टी गलत बाटोमा जान लागेको संकेत गर्दै उनले आवश्यकता परे हस्तक्षेप गरेर भए पनि पार्टीलाई सही मार्गमा ल्याउने जिकिर गरे।
‘संसारमै नभएको चुनाव’ भन्दै राजीव खत्रीको कटाक्ष
अर्का नेता एवं सांसद राजीव खत्रीले रास्वपाको आन्तरिक निर्वाचन प्रणालीमाथि तीव्र आक्रोश पोख्दै यसलाई ‘संसारमै कहीँ नभएको चुनाव’ को संज्ञा दिएका छन्। चुनावमा आफ्नै प्रतिद्वन्द्वीलाई समेत अनिवार्य भोट हाल्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको र ‘नो भोट’ को धज्जी उडाइएको भन्दै उनले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्। रास्वपाले आफ्नै चुनावमा यो व्यवस्था लागु गर्न नसकेपछि उसले ‘राइट टु रिजेक्ट’ को एजेन्डा नै छाडिसकेको भन्दै विश्लेषण हुन थालेको छ।