×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शिक्षा/स्वास्थ्य

कोरोना सङ्क्रमणको जोखिममा विद्यार्थी

कोरोना सङ्क्रमणको जोखिममा विद्यार्थी

काठमाडौँ -कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् ।यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउने र त्यसले बालबालिकालाई बढी प्रभावित गर्ने आकलन गरिसकेको छ ।तेस्रो लहर आउने र त्यसमा बालबालिकालाई असर गर्ने भएकाले हरेक अस्पतालमा २० प्रतिशत शय्या छुट्याउन मन्त्रालयले निर्देशन दिइसकेको छ । लामो समयसम्म घरमै बसी अनलाइन कक्षा लिइरहेका विद्यार्थीलाई विद्यालय जाँदा रमाइलो महसुस त भएको छ तर कोरोना यथावत् रहेकाले त्रसित वातावरणमा विद्यालय जानुपर्ने बाध्यता उत्पन्न भएको छ ।कतिपय विद्यालयले कक्षा १२ को परीक्षा सकेपछि विद्यालय सञ्चालन गर्ने बताइरहेका छन् भने कतिपयले सञ्चालन गरिसकेका छन् ।

ठिमीस्थित एक निजी विद्यालय नियमित सञ्चालन हुन थालिसक्यो ।हरिबहादुर मगर आफ्ना पाँच वर्षको बालकलाई विद्यालय पठाउन थालिसकेका छन् । ‘विद्यालयबाट फोन आएपछि नियमित विद्यालय पठाइहाल्नुपर्यो’, मगरले भने, ‘कोरोनाको सङ्ख्या दैनिक दुई/तीन हजार थपिरहेकोले सङ्क्रमण सर्छ कि भन्ने ठूलो डर छ ।’सानो बच्चा छ, यदि कोरोना सरिहाल्यो भने के गर्ने भन्ने चिन्ताले उहाँलाई सताउने गरेको छ । उनको दूध डेरी र मासु पसल छ, पसलमा दैनिक ५० जना मानिस आउने गर्छन् ।खोप नलगाएका कारण उनलाई ठूलो त्रास छ । सरकारले ४० वर्ष उमेरभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप लगाए पनि उनले हालसम्म खोप लगाउन पाएका छैनन् ।आफूसमेत जोखिममा रहेका बेला सानो बालकलाई विद्यालय लैजान थालेपछि चिन्ताले थप सताउन थालेको छ । यस्तै उद्धव घिमिरेकी छोरी दधिकोटस्थित अरनिको विद्यालयमा अध्ययनरत छिन् । घिमिरेलाई कक्षा १२ को परीक्षा सक्नेबित्तिकै अध्ययन नियमित सञ्चालन गर्ने सूचना आएको छ ।विद्यालयमा कोरोना लागेका विद्यार्थी आउने सम्भावना रहेकाले छोरीलाई विद्यालय पठाउने कि नपठाउने दोधारमा उनी छन् । यस्ता कैयौँ अभिभावक, विद्यार्थी नियमित विद्यालय सञ्चालनमा आएपछि कोरोना सर्ने डरले विद्यालय जाने वा नजाने भन्ने अन्योलमा छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्