×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चितवनमा पठाइयो मतदाता संख्याभन्दा ३६ हजार बढी मतपत्र

चितवनमा पठाइयो मतदाता संख्याभन्दा ३६ हजार बढी मतपत्र

चितवन- निर्वाचनको मितिभन्दा पाँच दिनअघि चितवनमा मतपत्र आइपुगेको छ । चितवनमा मतदाताको संख्या भन्दा ९ दशमलव १३ प्रतिशत अर्थात् ३६ हजार ३१५ बढी मतपत्र आएको निर्वाचन कार्यालय भरतपुरले जनाएको हाे । 

चितवनको सात पालिकामा मतदाताको संख्या तीन लाख ९७ हजार ६८५ रहेको छ । चितवनमा सात पालिकाका लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ ।

वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आयोगले चितवनमा अन्य जिल्लाको तुलनामा मतपत्र ढिला पठाएको छ । केही मतपत्रमा प्रिन्ट बिग्रेको हुनसक्ने भनेर केही मतपत्र बढी पठाएको निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले बताए । मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारी आयोगले आफ्नो नीति अनुसार नै मतदाताको संख्याभन्दा केही बढी मतपत्र पठाएको जानकारी दिए ।

भरतपुर महानगरको लागि बनाइएको मतपत्रमा दल र स्वतन्त्रका गरी ३६ प्रकारका चुनाव चिह्न छन् । उम्मेदवार भने ३५ प्रकारका चुनाव चिह्न पाएका मात्रै छन्। ३६औँ नम्बरको लाइनमा राखिएको चुनाव चिह्न कुनै पनि उम्मेदवारको नभएको निर्वाचन कार्यालयले जनाएको छ । मतदानको दिन ३० वैशाख बिहान दलका प्रतिनिधिहरूको रोहवरमा मतपत्रको पोको खोलिनेछ ।

चितवनको भरतपुर महानगरको चुनावको चर्चा देशभरि नै चलेको छ । भरतपुर महानगरको मेयरमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्र चितवनकी इन्चार्ज रेणु दाहाल र नेकपा एमाले र राप्रपाको तालमेलमा एमालेका नेता विजय सुवेदी चुनावी मैदानमा छन् ।

प्रतिकृया दिनुहोस्