×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भरतपुरको उत्पादनमा वृद्धि गर्ने नीति लिएका छौ: मेयर रेनु दाहाल

भरतपुरको उत्पादनमा वृद्धि गर्ने नीति लिएका छौ: मेयर रेनु दाहाल

भरतपुर- भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरको उत्पादनमा वृद्धि गर्ने गरी नीति तथा कार्यक्रम ल्याएको बताउनु भएको छ । मेयर दाहालले यस अघिको कार्यकालमा सडक पूर्वाधारलाई मुख्य प्रथामिकता दिइएको भएपनि अहिले उत्पादनलाई प्रथामिकता दिएको उल्लेख गर्नुभयो । उत्पादनमा पनि कृषि उत्पादनलाई प्रथामिकता दिएका छौ, त्यसका लागि आवश्यक पूर्वाधारहरु निर्माणको क्रममा रहेको छ–मेयर दाहालले भन्नुभयो ।

चितवन चनौली शीत भण्डार सहकारी संस्था भरतपुर–१८ ले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । कृषि उत्पादन वृद्धि गर्न विभिन्न यन्त्र उपकरणमा अनुदान, सिंचाईका लागि डिबोरिङ, स्यालो टुबलेल, नारायणी लिफ्ट सिंचाईको नयाँ उपकरण खरिद, खगेरी सिंचाईहरु निर्माण भएको मेयर दाहालले बताउनुभयो ।

‘भरतपुर धेरै उत्पादनमा आत्मनिर्भर छ, उहाँले भन्नुभयो,‘ अब बेमौसमी कृषि उत्पादन गर्न सिंचाईको महत्वपूर्ण भूमिका रहन्छ । उत्पादनलाई वृद्धि गर्न विगत ५ वर्षदेखि दूधमा अनुदान दिदै आएका छौ । अन्य उत्पादनमा पनि वृद्धि गर्न महानगरपालिका सकारात्मक रहेको छ ।’ महानगरपालिका थोरै लागतमा धेरै उत्पादन गर्न पहिलादेखि नै विभिन्न यन्त्र उपकरणको प्रयोग गर्न कृषकलाई प्रोत्सहान गर्दै आएको मेयर दाहालले बताउनुभयो । एउटा महानगरपालिकामा एक शीत भण्डार हुँदै पर्ने नियम छ, उहाँले भन्नुभयो,‘कृषकहरुले नै लगानी गरेर निर्माण गर्नु भएको छ, यो स्वागत योग्य छ । यसको प्रवद्र्धनको लागि महानगरपालिका सधै तयार छ ।’

कार्यक्रममा संस्थाका अध्यक्ष सूर्यमणि पौडेलले शीत भण्डारको माध्यमबाट कृषिमा आउने  रूपान्तरणमा हातेमालो गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा वाग्मती प्रदेश कृषि मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेल, उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम, वडा नं १८ अध्यक्ष बाबुराम राना, वडा नम्बर ३ का अध्यक्ष विकास थापा, सेयर सदस्य नरहरि घिमिरे लगायतले बोल्नु भएको थियो ।    यसैबीच भरतपुर महानगर प्रमुख रेनु दाहालले चितवन चनौली शीत भण्डारको अवलोकन गर्नु भएको छ ।

मेयर दाहालले शीत भण्डारले गर्दै आइरहेको काम कारबाहीको बारेमा जानकारी लिनु भएको थियो । गत चैतबाट पूर्ण रुपमा सञ्चालनमा आएको भण्डारले विभिन्न खाद्ययन्न र तरकारीहरु भण्डारणको काम सुरु गरिसकेको छ । शीत भण्डार निर्माणका लागि रु  २० करोड रुपैयाँ खर्च भइसकेको छ । दुई वटा चेम्बर निर्माण गरी व्यवसायीक र सेयर सदस्यका लागि भण्डारणको व्यवस्था मिलाइएको छ । भण्डार निर्माणका लागि संघिय सरकारको सहकारी मन्त्रालय अन्तरगतको सहकारी विभागबाट रु ५ करोड ८१ लाख, वागतमती प्रदेशबाट रु ५७ लाख ९१ हजार,  भरतपुर महानगरपालिकाबाट रु ४ लाख ८२ हजार र नक्सा पास गर्न ९ लाख ३४ हजार सौजन्य भएको संस्थाका अध्यक्ष सूर्यमणि पौडेलले बताउनुभयो ।

यस्तै सेयर सदस्यबाट रु ८ करोड ६२ लाख संकलन गरिएको छ । शीत भण्डारमा सदस्य हुनका लागि न्युनतम रु १ लाख तोकिएको छ । ७ कठ्ठा क्षेत्रफलमा फैलिएको शीत भण्डारमा क्षमताको ६० प्रतिशत खाद्ययन्न भण्डार गरिएको संस्थाले जनाएको छ । यहाँ आलु, चना, मकै, गाजर लयातका खाद्ययन्न भण्डार गरिएको छ । एक सिजन भण्डार गर्न प्रतिकिलो साढे ५ देखि साढे ६ रुपैयाँ मूल्य तिर्नुपर्छ ।

प्रतिकृया दिनुहोस्