काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्राथमिकता प्रधानमन्त्री पद नभएको स्पष्ट पारेका छन् । उनले आफ्ना लागि प्रधानमन्त्री पद भन्दा पनि जनताको आर्थिक विकास र समृद्धि पहिलो प्राथमिकता रहेका बताएका छन् ।
दसैंका अवसरमा प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भने, ‘केही वर्षदेखि म प्रधानमन्त्रीको रेसमा होइन, लोकतन्त्रको रक्षा, राष्ट्रको रक्षा, संविधानको रक्षा मेरो पहिलो प्राथमिकता हो । मैले चाहेको भए २०७४ सालपछि मलाई पाँचै वर्ष प्रधानमन्त्री हुने अफर थियो । त्यो त्यसपछि पनि थियो । त्यसपछि अहिले भर्खर पनि छ तर प्रधानमन्त्री मुख्य होइन ।’
प्रचण्डले संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउने प्रयास अहिले पनि भइरहेको उल्लेख गर्दै आफू यसविरुद्धको संघर्षमा रहेको बताएका छन् । परिवर्तनमा योगदान गर्ने नेतालाई के गरी बदनाम गर्ने होला भनेर षड्यन्त्र भएको उनको ठम्याई छ ।
‘अहिले पनि एक थरी तत्वहरू यो संविधानलाई कसरी उल्ट्याउने होला ? यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई के गरी कमजोर पार्ने होला, पार्टीहरूलाई के गरी बदनाम गर्ने होला । परिवर्तनमा योगदान गर्ने नेतालाई के गरी बदनाम गर्ने होला भनेर लागेकै छन् ,’ उनले भने । प्रत्येक क्रान्तिपछि प्रतिक्रान्तिले टाउको उठाउने खतरा भइराख्ने भन्दै उनले प्रत्येक ठूला क्रान्ति र परिवर्तन उल्ट्याउने प्रयत्न र षडयन्त्र हुने बताए ।
परिवर्तनको विरोधमा अहिले सामाजिक सञ्जाललाई समेत माध्यम बनाइएको प्रचण्डको भनाइ छ । सामाजिक सञ्जालको प्रयोग गरेर प्रतिगमनकारीले पनि भ्रमित सूचना सम्प्रेषण गरेर जनमत सिर्जना गर्ने सम्भावना रहेको प्रचण्डले बताए ।