×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

टोक्यो ओलम्पिक : शीर्ष पाँच देशमा महिला अघिअघि पुरुष पछिपछि

टोक्यो ओलम्पिक : शीर्ष पाँच देशमा महिला अघिअघि पुरुष पछिपछि

जापानको राजधानी टोक्योमा चलिरहेको ओलम्पिक खेलकुदमा पदक तालिकामा शीर्ष स्थानमा रहेका पाँच देशका लागि पुरुषभन्दा महिला खेलाडीले बढी पदक दिलाएका छन् । महिला खेलाडीले पुरूष खेलाडीको तुलनामा ६७ प्रतिशत बढी पदक जितेका हुन् । शीर्ष पाँच स्थानमा रहेका देशले जम्मा ३१० पदक जितेकोमा महिलाले अहिलेसम्म १९४ पदक जितेका छन् भने पुरुष खेलाडीले ११६ पदक जितेका छन् ।

पदक तालिकामा शीर्ष स्थानमा रहेको चीनका महिला खेलाडीले पुरुषको तुलनामा दुई गुणा बढी पदक जितेका छन् । दोस्रो स्थानमा रहेको अमेरिकाका महिलाले पुरुषको तुलनामा ३ गुणा बढी पदक जितेका छन् ।

चीन र अमेरिकाका महिला खेलाडीले पुरुषको जतिमात्रै पदक जितेका भए दुवै देश पदक तालिकामा अस्ट्रेलियाभन्दा पछि रहने थिए । अर्थात् बढी पदक जितेका देशलाई ती स्थानमा पुर्यारउन महिला खेलाडीको भूमिका अहम छ ।

यस्तै शीर्ष पाँचभित्र परेका जापान‚ रुस र अस्ट्रेलियामा पनि पदक विजेता महिला खेलाडी धेरै छन् ।

टोक्यो ओलम्पिकमा २ भन्दा बढी पदक जित्ने महिला ३५ जना छन् । पुरूष १९ जना छन् । अस्ट्रेलियाकी पौडीबाज एम्मा एक्लैले जारी ओलम्पिकमा ७ पदक जितेकी छिन् । ३ पदक जित्ने कुल ८ खेलाडीमा ५ जना महिला छन् । २ पदक जित्ने ४५ जना खेलाडी रहेकोमा ३१ जना महिला छन् ।(प्रतियोगिता चलिरहेकाले आँकडा परिवर्तन हुन सक्नेछ ।)

चीनका ४२ (६४.६%) महिलाले पदक जित्दा २३ (३५.४%) पुरुषले पदक जितेका छन् । त्यस्तै जापानका २८ (५८.३%) महिलाले पदक जित्दा २० (४१.७%) पुरुषले पदक जितेका छन् । त्यस्तै अमेरिकाका ६० (७६.९%) महिलाले पदक जित्दा १८ (२३.१%) पुरुषले पदक जितेका छन् । त्यस्तै रुसी ओलम्पिक कमिटीका ३१ (५०.८%) महिलाले पदक जित्दा ३० (४९.२%) पुरुषले मात्र पदक जितेका छन् । त्यस्तै अस्ट्रेलियाका ३३ (५६.९%) महिलाले पदक जित्दा २५(४३.१%) पुरुषले पदक जितेका छन् ।

यी पाँच देशबाट ओलम्पिकमा २४५० खेलाडी छनोट भएका छन् । जसमा १३५४(५५.३%)महिला रहँदा १०९६ (४४.७%) पुरुष रहेका छन् ।

पुरुषको खेल मानिने घोडचढीमा पनि महिला अघि रहेका छन् । ओपन क्याटगोरीमा नै पुरुषलाई फराकिलो अन्तरले पाखा लगाउन महिला खेलाडी सफल भएका छन् । ओलम्पिकमा घोडचढीमा ओपन विधा हुन्छ । जसमा महिला या पुरुष जो कोहिले पनि भाग लिन पाउँछन् । ओपन विधामा १२ मध्ये महिलाले १० पदक जित्दा पुरुषको भागमा केबल २ पदकमात्र परेका छन् ।

एम्मा एक्लैले जितिन् ७ पदक
७ मेडल जित्ने अस्ट्रेलियाकी एम्मा म्यककेओनले एकै ओलम्पिकमा सर्वाधिक पदक जित्ने महिला खेलाडीको कीर्तिमान बराबरी गरेकी छन् । पौडीबाज एम्माले ४ स्वर्णसहित कुल ७ पदक जित्दै आफ्नो रवाफिलो प्रदर्शन जारी राखेकी छन् ।

उनले १९५२ को हेलनसन्की ओलम्पिकमा सोभियत युनियनकी जिम्यान्यास्टिक मारिया गोरोखोभ्स्काले बनाएको कीर्तिमान बराबरी गरिन् । एम्माले रियो ओलम्पिकमा ४ पदक जितेकी थिइन् ।

एम्माले टोक्यो ओलम्पिकमा चार गुणा १०० मिटर फ्रिस्टाइल रिले, १०० मिटर फ्रिस्टाइल, ५० मिटर फ्रिस्टाइल र चार गुणा १०० मिटर मिडले रिलेमा स्वर्ण जित्दा १०० मिटर बटरफ्लाई, चार गुणा २०० मिटर फ्रीस्टाईल रिले र चार गुणा १०० मिटर मिक्स्ड मिडले रिलेमा कांस्य जितिन् ।

 
 

प्रतिकृया दिनुहोस्