काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कको समन्वयमा सबै समस्या समाधान गर्ने गरी काम अघि बढेको बताएका छन्।
बैङ्क अफ काठमान्डु र ग्लोबल आइएमई बैङ्कबिच मर्जरपछिको एकीकृत कारोबारको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब डिजिटल र नवप्रवर्द्वनमा सहज गराउने अभियानमा लाग्न आग्रह गरेका छन्।
अर्थतन्त्र तत्काल सुधार गर्न पर्ने देखिएकोले सरकार गठन लगत्तै पहिलो निर्णय यसै सम्बन्धी गरिएको उनले बताए। निजी क्षेत्रका चासो र माग सम्बोधन गर्न अर्थ मन्त्रालय र राष्ट्र बैङ्कसँग हालै छलफल गरेको उनले बताए। प्रधानमन्त्रीले मर्जरले ठुला परियोजनामा अब वित्तीय लगानी जुटाउन सहज हुने आशा व्यक्त गरेका छन्। युवालाई रोजगारी र उद्योगका क्षेत्रमा सहयोग गर्न उनको आग्रह छ।