टोकियो । जापानमा नेपालीहरूलाई लक्षित गर्दै भइरहेका विभिन्न प्रकारका ठगी घटनाविरुद्ध कडा कदम चालिएको छ। नेपाली समुदायका सक्रिय अभियन्ता अमेश अधिकारीले ठगीमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन औपचारिक कानुनी प्रक्रिया अगाडि बढाएको जानकारी दिएका छन् । उनका अनुसार केही व्यक्तिहरूले नक्कली कम्पनी दर्ता गरेर नक्कली अफर लेटर दिने, काम लगाइदिने भन्दै पैसा असुल्ने जस्ता गतिविधि गर्दै नेपालीहरूलाई ठगी गर्दै आएको उजुरी प्राप्त भएको छ। यी घटनासँग सम्बन्धित प्रमाणहरू संकलन गरी कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको उनले बताएका छन्।
अधिकारीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा स्पष्ट रूपमा भनेका छन् कि यदि कसैले जापानमा नेपालीहरूलाई ठग्ने, गैरकानुनी वा अनैतिक गतिविधि गरिरहेको प्रमाण फेला पार्छ भने सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप गर्नेभन्दा पनि सिधै कानुनी प्रक्रिया अपनाउन आग्रह गरेका छन् । उनका अनुसार प्रमाण सहित उजुरी आएमा सम्बन्धित निकायमार्फत कानुनी रूपमा कारबाही अगाडि बढाइनेछ, जसले भविष्यमा यस्ता ठगीका घटनाहरू रोक्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यस अभियानको प्रभाव स्वरूप पछिल्लो एक हप्ताभित्रै ठगिएका नेपालीहरूलाई ६५२ मानभन्दा बढी रकम फिर्ता गराउन सफल भएको जानकारी पनि उनले दिएका छन् । जापानमा बसोबास गर्ने नेपाली समुदायका धेरै सदस्यहरू ले यस कदमलाई सकारात्मक रूपमा लिँदै ठगीको शिकार भएका व्यक्तिहरूलाई अब डराउनुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन्।
समुदायका सदस्यहरूले पनि यदि आफू ठगिएको वा ठगीको प्रयास भएको जानकारी भएमा प्रमाण सुरक्षित राखेर कानुनी माध्यमबाट अघि बढ्न आग्रह गरेका छन्। उनीहरूका अनुसार यसले जापानमा बस्ने नेपाली समुदायलाई सुरक्षित र सचेत बनाउन ठूलो भूमिका खेल्नेछ।