काठमाडौं- कलाकार तथा कला निर्देशक उद्धव भट्टराई (जुङ्गे) को निधन भएको छ।६६ वर्षका भट्टराई लामो समयदेखि दमको रोगबाट पीडित थिए। जन्मथलो बैतडीबाट काठमाडौं आउने क्रममा उनको चितवनमा आफू सवार बसमै निधन भएको हो। लामो जुंगाका कारण भट्टराई जुङ्गे उपनामले चर्चित थिए।
निकै सुपरहिट नेपाली फिल्ममा कला निर्देशकको रूपमा र कलाकारको रूपमा काम गरेका उनले कला फिल्ममा भेषभुषा समेत हेर्ने गर्दथे। फिल्म ‘सन्तान’बाट कलाकार र कस्टुम डिजाइनरको रूपमा करिअर थालेका उनले पछिल्लो पटक फिल्म ‘मेरी मामु’ मा कला निर्देशकको रूपमा काम गरेका थिए। त्यसयता उनको हातमा काम थिएन।
२०७३ सालमा एलजी अवार्डमा उनलाई कला निर्देशनको लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। भट्टराईले नेपालीसँगै केही बलिउड फिल्ममा पनि अभिनय गरेका छन्।