काठमाडौँ- निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारका बारेमा मत सर्वेक्षण नगर्न आग्रह गरेको छ । उम्मेदवारको मनोनयन दर्ता भएपछि मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण गर्न र त्यसको नतिजा सार्वजनिक गर्न नपाइने भन्दै आयोगले त्यसो गरेमा कारबाही हुने चेतावनी दिएको हो ।
आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बिहीबार प्रेस विज्ञप्ति जारी गरी निर्वाचन आचारसंहिता लागू भइसकेकाले मत सर्वेक्षण नगर्न आग्रह गरेका छन्। कतिपय व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको पाइएको आयोगले जनाएको छ।
आयोगले उम्मेदवारको मनोनयन पत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धनमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने व्यवस्था भएको स्मरण गराएको छ।
निर्वाचनका क्रममा को लोकप्रिय छ र को निर्वाचित हुनेछ भन्ने आँकलन गर्न मतदाताहरूको नमुना लिई मत सर्वेक्षण गरिन्छ । यस्तो सर्वेक्षणले अरू मतदाता प्रभावित हुने र निष्पक्ष रूपमा निर्वाचन गर्न बाधा हुने भन्दै निर्वाचन आयोगले मत सर्वेक्षणलाई बन्देज लगाउँदै आएको छ । गत स्थानीय निर्वाचनमा कतिपय सञ्चारमाध्यम र संस्थाले मत सर्वेक्षण गरेका थिए भने आयोगले पनि स्पष्टीकरण सोधेको थियो ।
हेर्नुस् विज्ञप्ती: