काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेसको शेखर कोइराला समूहले चियापान कार्यक्रम गरेको छ । बिहीबार बिहान काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यााण्डमा चियापान कार्यक्रम गरेको हो ।
कार्यक्रममा कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन कुमार थापा, सहमहान्त्री बद्री पाण्डे, नेता मिनेन्द्र रिजाललगायतको उपस्थिति थियो । यद्यपि, नेताहरूले औपचारिक रूपमा भने केही बोलेनन् । शीर्ष नेताहरू छुट्टै बस्नुपर्ने भनेर उनीहरू चियापानस्थलबाट बाहिरिएका छन् ।
कांग्रेसमा समान अवसर र न्यायका लागि भन्दै खबरदारी अभियान चलाइरहेको शेखर-गगन समूहले दशैंको चौंथो दिनै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको हो ।
कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा शेखर समूहको असन्तुष्टि छ । प्रत्यक्षमा पनि कम्तीमा ४० प्रतिशत सिटको बटमलाइनसहित संस्थापन पक्षलाई दबाब दिँदै आएको छ । यो समूहले बुधबार केन्द्रीय कार्यालयमा धर्ना समेत दिएको थियो ।