×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टी-२० विश्वकपमा नेपालको १२ वर्षे जितको खडेरी समाप्त, स्कटल्यान्डमाथि सानदार जित

टी-२० विश्वकपमा नेपालको १२ वर्षे जितको खडेरी समाप्त, स्कटल्यान्डमाथि सानदार जित

काठमाडौं - आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा जितको स्वाद चाखेको छ। यस सान्त्वना जितसँगै नेपालले लामो समयदेखिको विश्वकप जितको खडेरी तोडेको हो।

स्कटल्यान्डले दिएको १७१ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले १९.२ ओभरमा मात्र ३ विकेट गुमाएर सफलतापूर्वक पूरा गर्‍यो। नेपालको यस ऐतिहासिक जितमा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको प्रदर्शन विशेष रह्यो।

दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण अर्धशतक (नटआउट ५० रन) प्रहार गर्दै नेपाललाई जितसम्म डोहोर्‍याए। यससँगै उनी टी-२० विश्वकपमा नेपालका लागि दुई अर्धशतक र लगातार दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। यसअघि उनले वेस्ट इन्डिजविरुद्ध पनि अर्धशतकीय पारी खेलेका थिए। उनलाई गुल्सन झाले नटआउट २४ रन बनाएर राम्रो साथ दिए।

लक्ष्य पछ्याउने क्रममा नेपालले कुशल भुर्तेल र आसिफ शेखले ७४ रनको उत्कृष्ट ओपनिङ साझेदारी गर्दै सानदार सुरुवात गरेको थियो। यो टी-२० विश्वकपमा नेपालको लागि पहिलो विकेटको उच्च साझेदारी हो। कुशल भुर्तेलले ४३ रन (३५ बल, १ चौका, ४ छक्का) बनाएर आउट भए। उनी टी-२० विश्वकपको एकै इनिङ्समा सर्वाधिक चार छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी पनि बने। आसिफ शेखले पनि २७ बलमा २ छक्कासहित ३३ रनको योगदान दिए।

कप्तान रोहितकुमार पौडेलले १६ रन बनाए। नेपालका सुरुवाती तीनै विकेट स्कटल्यान्डका स्पिनर माइकल लिस्कले लिएका थिए, जसले आफ्नो सुरुवाती तीन ओभरमा १० रन दिएर तीन विकेट लिएका थिए। तर, १६औं ओभरमा लिस्कलाई दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले मिलेर २० रन प्रहार गरेपछि खेल नेपालको पक्षमा मोडिएको थियो। दीपेन्द्रले त्यसपछि इनिङ्स सम्हाल्दै १८औं ओभरमा ब्राड ह्विललाई लगातार छक्का र चौका प्रहार गर्दै नेपाललाई दबाबमुक्त बनाए। लगत्तै गुल्सन झाले पनि ब्राड करीलाई छक्का प्रहार गरेर जित सुनिश्चित गरे।

यसअघि मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनको योगफल बनाएको थियो। स्कटल्यान्डका ओपनर माइकल जोन्सले अर्धशतकीय पारी खेले।

नेपाली बलरहरूले सुरुवाती ओभरमा केही दबाब झेले पनि अन्तिम पाँच ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिई केवल ३९ रन मात्र खर्चिए। नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। नन्दन यादवले २ विकेट (४ ओभरमा ३४ रन) लिए भने कप्तान रोहित पौडेल (२ ओभरमा १२ रन) र कुशल भुर्तेल (४ ओभरमा ३७ रन) ले एक-एक विकेट हात पारे। मुख्य स्पिनर सन्दीप लामिछानेले भने यस खेलमा पनि विकेट लिन सकेनन्। उनले ३ ओभरमा २९ रन खर्चिए।

स्कटल्यान्डले पनि जर्ज मुन्से (२७ रन) र माइकल जोन्सको ८० रनको ओपनिङ साझेदारीसहित सानदार सुरुवात गरेको थियो। कप्तान रोहित पौडेलले मुन्सेलाई आउट गर्दै यो साझेदारी तोडे। त्यसपछि माइकल जोन्सले ब्रान्डन म्याकमुलेनसँग मिलेर ५२ रनको अर्को महत्वपूर्ण साझेदारी गरे। आक्रामक ब्याटिङ गरेका जोन्सले ३१ बलमै अर्धशतक पूरा गर्दै कुल ४५ बलमा ८ चौका र ३ छक्कासहित ७१ रन बनाए। उनलाई सोमपाल कामीले १६औं ओभरमा बोल्ड गर्दै नेपाललाई ठूलो राहत दिए।

सोमपालले जोन्सको विकेट लिएको एक बलपछि ब्रान्डन म्याकमुलेनलाई (२५ रन) उत्कृष्ट एकहाते क्याच लिँदै अर्को सफलता दिलाए। यद्यपि, नेपालले फिल्डिङमा केही गल्ती गर्‍यो। १४औं ओभरमा सन्दीप जोराले १६ रनमा म्याकमुलेनको क्याच छाडेका थिए भने १७औं ओभरमा लोकेश बमले बेरिङटनको क्याच गुमाउँदा छक्कामा परिणत भएको थियो। तर भुर्तेलले बेरिङटनलाई (१० रन) सन्दीप जोराबाट नै क्याच गराएर त्यो गल्ती सच्याए। नन्दन यादवले म्याथ्यु क्रस (४ रन) र माइकल लिस्क (४ रन) लाई आउट गरे भने सोमपालले टम ब्रुस (५ रन) लाई बोल्ड गरेर आफ्नो तेस्रो विकेट लिए। अन्तिम बलमा मार्क वाटले छक्का प्रहार गर्दै स्कटल्यान्डको स्कोर १७० पुर्‍याएका थिए।

सन् २०१४ मा अफगानिस्तानलाई हराएपछि टी-२० विश्वकपमा नेपालको यो पहिलो जित हो। यो सान्त्वना जितसँगै नेपालले जारी विश्वकपको समूह चरणबाट तीन खेलमा पराजय भोगेको यात्राको सुखद अन्त्य गरेको छ। यस खेलमा करण केसीको स्थानमा सन्दीप जोरालाई मौका दिइएको थियो। १५ सदस्यीय टोलीमध्ये बसिर अहमदले मात्र यसपटक विश्वकपमा खेल्ने अवसर पाएनन्। यसअघि नै दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले यो खेल प्रतिष्ठाको लडाइँका रूपमा रहेको थियो।

प्रतिकृया दिनुहोस्