×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरकारले लगायो नेपालमा टेलिग्राममाथि प्रतिबन्ध

सरकारले लगायो नेपालमा टेलिग्राममाथि प्रतिबन्ध

काठमाडौं - सरकारले लोकप्रिय मेसेजिङ एप टेलिग्राममाथि प्रतिबन्ध लगाएको छ। अनलाइन ठगी, सट्टेबाजी र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) जस्ता गम्भीर आपराधिक गतिविधिमा यसको दुरुपयोग बढेको निष्कर्षसहित सरकारले यस्तो कठोर कदम चालेको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई तत्काल टेलिग्रामको पहुँचमा रोक लगाउन निर्देशन दिएको छ। प्राधिकरणको निर्देशनमा भनिएको छ, "टेलिग्राममार्फत अनलाइन ठगी र मनी लाउन्डरिङजस्ता गम्भीर अपराध बढेको पाइएकाले उक्त एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिइएको छ।" यो निर्णयसँगै अब नेपालमा टेलिग्राम सञ्चालन हुने छैन, जसबाट लाखौं प्रयोगकर्ता प्रभावित हुनेछन्।

पछिल्लो समय टेलिग्राममार्फत रोजगारीको प्रलोभन देखाएर र क्रिप्टो कारोबार गराएर ठगी गर्ने घटना बढेपछि नेपाल प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको थियो। प्रहरीको रिपोर्टका आधारमा प्रधानमन्त्री कार्यालय अन्तर्गतको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी राष्ट्रिय समन्वय समितिले टेलिग्राम बन्द गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सिफारिस गरेको थियो।

सञ्चार मन्त्रालयले सुरुमा टेलिग्रामका आधिकारिक प्रतिनिधिसँग सम्पर्कको प्रयास गरे पनि असफल भएपछि दूरसञ्चार प्राधिकरणलाई यसको पहुँच रोक्न पत्राचार गरेको थियो। सोही पत्रका आधारमा प्राधिकरणले सेवा प्रदायकहरूलाई निर्देशन जारी गरेको हो। बलियो सुरक्षा प्रणाली र ठूला समूह बनाउन मिल्ने सुविधाका कारण टेलिग्राम आपराधिक समूहको रोजाइमा परेको सरकारी विश्लेषण छ।

प्रतिकृया दिनुहोस्