काठमाडौं - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ। यसको असरले अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
विशेषगरी, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन र पछिल्लो मौसमी सूचनाको जानकारी लिएर मात्र यात्रा गर्न सबैमा अनुरोध गरेको छ।