काठमाडौं: सरकारका नीति तथा कार्यक्रम युवा मैत्री हुन नसकेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
स्थानीय सरकार नीति, कार्यक्रम तथा बजेट निर्माणका क्रममा रहेकै बेला युवा संस्था सञ्जाल (आयोन) ले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रमका सहभागीले युवा लक्षित कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।
स्थानीय सरकारका नीति, कार्यक्रम तथा निर्वाचनमा युवा सहभागीता विषयक कार्यक्रममा सहभागी अधिकांशले महामारीले युवा बेरोजगारी बढ्दै गएको तर सरकारका कार्यक्रम औपचारिकतामुखी मात्रै भएको बताए ।
तीन तहकै सरकारले युवाको आवश्यकतालाई सम्बोधन गर्न नसकेको, युवाका लागि ल्याइने कार्यक्रम प्रतिफलमुखी नभएको, नीति निर्माणमा युवाको भूमिका स्वीकार नगरिएकोप्रति संबेदनशील हुन सहभागीले आग्रह गरेका छन् । निर्वाचनका क्रममा युवाहरु राजनीतिक रुपमा प्रयोग मात्रै गर्ने प्रवृति समस्याका रुपमा रहेको सहभागीले औंल्याएका छन् ।