काठमाडौं- निर्वाचन आायेगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ। राष्ट्रपति निर्वाचनका लागि स्थापना गरेको निर्वाचन आधिकृतको कार्यलयले बुधबार नामावली सार्वजनिक गरेको हो। आयोगले सार्वजनिक गरेको नामावलीमा संघीय संसद्का ३ सदस्य बाहेकाको नाम उल्लेख छ।
राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का ३३१ र प्रदेश सभाका ५५० गरी कूल ८८१ जना मतदाता रहने छन्। संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका ३ सदस्यको नाम नामावलीमा छैन।
प्रतिनिधि सभाका तत्कालीन सदस्य रवि लामिछाने नागरिकता विवादको मुद्दामा दोषी ठहर भइ सांसद पदबाट पदमुक्त भइसकेका छन्। त्यस्तै, नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङ र नागरिक उन्मुक्तिका सांसद् लक्ष्मण चौधरी निलम्बनमा परेकाले मतदाता नामावलीमा नरहेका हुन्।
योगले जारी गरेको मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधबार ११ बजेदेखि बिहीबार १२ बजेसम्म रहेको छ। उक्त समयमा उजुरी आएमा त्यस उपर छानबिन गरी आयोगले फागुन १२ गते अपराह्न ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
नेपालको तेस्रो राष्ट्रपतिका लगि फागुन १३ गते मनोनयन दर्ता गर्ने र २५ गते निर्वाचन हुने कार्यतालिका छ।