काठमाडौं- उदयपुरको त्रियुगा नगरपालिकामा मतदानको ११ दिनपछि मतगणना सुरु भएको छ। बहुमत दलहरूले वडानम्बर १२ मा पुन: मतदानको माग गरे पनि निर्वाचन आयोगको निर्देशनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए।
‘निर्वाचन आयोगबाट मतगणना गर्ने निर्णय आएको छ’ सिलवालले भने, ‘मतगणना सुरु गरेका छौं।’ त्रियुगा-१२ को जनप्रेमी माविमा रहेका क ख ग मतदान केन्द्रमा ३० वैशाखमा भएको मतदानका क्रममा विवाद भएपछि मतदान नै स्थगित भएको थियो। सो केन्द्रमा पुन: मतदान गर्नुपर्ने वा मतगणना गर्ने विषयमा दलहरुबीच विवाद भएपछि मत गणना सुरु हुन सकेको थिएन।
विवादित उक्त मतदान केन्द्रको निर्वाचन आयोगको टोलीले स्थलगत अनुगमन पनि गरेको थियो । तर, लामो समय आयोगको निर्णय नआउँदा पुन:मतदान हुने वा मतगणना हुने भन्ने अन्योल थियो। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राप्रपालगायतले पुन: मतदानको माग राखेका थिए। नेकपा एमाले र कांग्रेसले भने मत गणनाका लागि दवाव दिदै आएका थिए।
बुढीगंगामा आयोग अझै अनिर्णित
निर्वाचन आयोगले मतदानको ११ दिनपछि त्रियुगामा मतगणना सुरु गर्ने निर्णय गरे पनि बाजुराको बुढीगंगा नगरपालिकाको बारेमा भने अझै निर्णय गर्न सकेको छैन। वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा भने विवादका कारण अझै मतगणना हुन नसकेको हो।
निर्वाचनमा धाँधली भएको भन्दै कांग्रेसले पुनः मतदानको माग गरेको छ। एमालेले भने यथास्थितिमा मतगणना हुनुपर्ने अडान राखेको छ। बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद छ। वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको स्थानीयको भनाइ छ।
२, ३, ५ र ९ वडाका मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने वडा ४ र ७ मा कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएर आफूअनुकूल मतदान गरेका थिए। यी ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिएका थिए।
ती वडामा बुथ कब्जा गरेर ९९ दशमलव ४१ प्रतिशतसम्म मत खसाइएको थियो भने सुरक्षाकर्मीले मतेपटिका मतदान केन्द्रमै छाडेर हिँडेका थिए। निर्वाचनका दिन पालिकास्थित निर्वाचन अधिकृतलाई नियन्त्रणमा राखिएको थियो।
उनले असुरक्षित भएको भन्दै राजीनामा दिएका थिए। मतपेटिकाहरू निर्वाचन कार्यालयले बुझ्न नमानेको लगायत घटना पनि भएका थिए। कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा राखेर मतदान भएको भनिएकामध्ये वडा ४ स्थित थुमा मावि मतदानस्थलमा १ हजार ७ सय ९ मतदाता रहेकामा १ हजार ६ सय ९९ मत खसाइएको छ। यो ९९.४१ प्रतिशत हो। यस्तै एमालेले नियन्त्रणमा राखेर मतदान गरेको भनिएकामध्ये वडा ९ स्थित त्रिशक्ति मावि मतदानस्थलमा १ हजार ४ सय ८३ मतदाता संख्या रहेकामा १ हजार ३ सय ४७ मत खसेको छ।
स्वतन्त्र मतदान हुन नसकेका मतदानस्थलबाट वडाध्यक्षका उम्मेदवारहरु लखेटिएका थिए। वडा ७ स्थित शारदा मावि मतदानस्थलमा मतदान सुरु भएको करिब दुई घण्टामै धाँधली सुरु भएपछि लाममा लागेका मतदाता लखेटिएका थिए।
यस्तै वडा ५ को भानोदय माविको मतदान स्थलबाट कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार खडक थापासमेत लखेटिएका थिए। मतदानस्थलमा झडप सुरु भएपछि मतदाताको भागाभाग भएको थियो। झडपपछि मतदान स्थललाई एमाले कार्यकर्ताले नियन्त्रणमा लिएका थिए।
बुढीगंगाको विवाद अध्ययन गर्न निर्वाचन आयुक्त सगुनशमशेर जबरासहितको टोलीले भानोदय माविको स्थलगत अध्ययन गरेको थियो। तर, आयोगको निर्णय भने अझै आएको छैन। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुढीगंगाको विवादबारे आयोगले चाँडै निर्णय गर्ने बताए।