काठमाडौँ- कांग्रेस महामन्त्री तथा संसदीय दलको नेताका उम्मेदवार गगन थापाले विवेकसम्मत निर्णय गर्न आग्रह गरेका छन् । मतदान शुरु हुनुपूर्व अपिल जारी गर्दै थापाले अग्रज नेताहरू तथा सांसदहरूलाई विवेकसम्मत निर्णय गर्न आग्रह गरेका हुन् ।
संसदीय दलको चुनावले कांग्रेसको भविष्य दिशानिर्देश गर्ने उनको भनाई छ । ‘आज हुन गइरहेको नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने छ,’ उनले भनेका छन्, ‘भर्खरै सम्पन्न आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमानदारितापूर्वक आत्मसात् गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि नेपाली कांग्रेसका आदरणीय अग्रज नेताहरू तथा माननीय सांसदज्यूहरूलाई विवेकसम्मत निर्णय गर्न म हार्दिक अपिल गर्दछु ।’
अपिल
आज हुन गइरहेको नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने छ । भर्खरै सम्पन्न आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमानदारितापूर्वक आत्मसात् गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि नेपाली कांग्रेसका आदरणीय अग्रज नेताहरू तथा माननीय सांसदज्यूहरूलाई विवेकसम्मत निर्णय गर्न म हार्दिक अपिल गर्दछु ।
वर्तमान राजनीतिक अन्यौलता र आर्थिक संकटको घडीमा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय एजेण्डा हो भन्ने कुरामा विश्वस्त छु। सरकारको नेतृत्व, सोच, नीति, कार्यक्रम र कार्यशैली परिवर्तनका पक्षमा नेपाली जनताले दिएको जनादेशको पूर्ण सम्मान गर्दछु ।
तीन-तीन वटा जनआन्दोलनको नेतृत्व गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेपाली कांग्रेस जस्तो क्रान्तिकारी, ऐतिहासिक र लोकतान्त्रिक पार्टीको संसदीय दलको नेताका रूपमा मलाई प्रस्ताव गर्नु भएकोमा आदरणीय अग्रज नेताहरू र सांसद साथीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु । तपाईँहरूको यो विश्वासले मलाई देश र जनताको पक्षमा काम गर्न थप ऊर्जा र प्रेरणा मिलेको छ । मैले तपाईँहरूको यो विश्वास कहिल्यै डगमगाउन नदिने प्रण गर्दछु ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्नु भएका अग्रज नेताहरूको उच्च सम्मान गर्दै याहाहरुवाट मार्गनिर्देनको अपेक्षा गर्दछु । पार्टीका श्रद्धेय नेताहरू तथा सम्पूर्ण माननीय सांसदज्यूहरूले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर छातीमा हात राखी युगानुकूल निर्णय गरी संसदीय दलको नेतामा मलाई मतदान गर्नुहुन विनम्रतापूर्वक अनुरोध गर्दछु ।
धन्यवाद
जय नेपाल
गगन थापा
उम्मेदवार, संसदीय दलको नेता
नेपाली कांग्रेस