×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

आजदेखि ५७ जिल्लाका विद्यार्थीलाई कोरोना खोप (सूचीसहित)

आजदेखि ५७ जिल्लाका विद्यार्थीलाई कोरोना खोप (सूचीसहित)

काठमाडौँ- सरकारले आजदेखि ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा १४ गतेसम्म १२-१७ वर्ष समूहका विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिइन् ।

उनका अनुसार प्रदेश नं १ का ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर, प्रदेश नं २ का सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइनेछ ।

यस्तै खोप लगाउनेमा बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर, गण्डकी प्रदेशका गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत, लुम्बिनी प्रदेशका रुकुमपूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया छन् ।

त्यस्तै कर्णाली प्रदेशका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर जिल्लाका सो उमेर समूहका विद्यार्थीलाई खोप लगाउने भएका छन् । ती जिल्लाका विद्यार्थीलाई दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म लगाइनेछ ।

यस्तै मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप अभियान सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा सोही अवसरमा फाइजर खोप लगाइने जानकारी दिएको छ ।

यस्तै मन्त्रालयले यही पुस १३ देखि २२ गतेसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिँदै छ । ती जिल्लामा दोस्रो मात्रा भने माघ ४ देखि १३ गतेसम्म लगाइने मन्त्रालयले जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस्