एजेन्सी-साउदी अरब सरकारले मक्कामा दाजु–बहिनीलाई मृत्युदण्डको सजाय सुनाइएको बताएको छ।
आफ्नै बुवा–आमा तथा दुई भाइको हत्यामा दोषी ठहरिएकाले उनीहरूलाई मृत्युदण्डको सजाय तोकिएको हो।
अल अरेबियाको समाचारअनुसार अब्दुल्ला अजिज बिन फहेद बिन गजाया अल हरेथी र उनकी बहिनी ओहुदले सुरुमा आफ्नी आमा र दुई भाइको खानामा निद्रा लाग्ने चक्की मिसादिए।
चक्कीले आमा र भाइ सुतेपछि उनीहरूले गोली हाने। भोलिपल्ट अर्का भाइलाई पनि उनीहरू गोली हानेर मारे।
साउदी सरकारका अनुसार दुईजना मिलेर आमा र भाइको शवलाई एक ठाउँमा लगे र त्यहाँ आफ्ना बुवालाई पनि बोलाएर गोली हाने।
यसपछि उनीहरूले घरमा आगो लगाए ताकि ग्यास लिक भएर घर जल्यो अनि उनीहरूको मृत्यु भयो भन्न सकियोस्।
साउदी सरकारले सुरक्षा र स्थायित्व कायम गर्न आफू प्रतिबद्ध रहेको र यस्ता अपराध गर्नेलाई कारबाही गरिने बताएको छ।