काठमाडौं-आफ्नै घरको ग्यास लिक भइ आगलागी हुँदा घाइते नेपाली कांग्रेसका नेता एवम् सांसद डा. चन्द्र भण्डारीले अस्पतालको बेडबाटै भिडियोमार्फत नयाँ वर्ष २०८० को शुभकामना दिएका छन् ।
भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीको उपचार भइरहेको छ । अस्पतालमा उपचाररत सांसद भण्डारीले भिडियो शन्देसमा भनेका छन्, “स्वदेश तथा विदेशमा बस्ने बस्ने नेपालीहरू २०८० को उपलक्ष्यमा नयाँ वर्ष मनाइरहेका छौँ । एकअर्कोले सुख, शान्ति, समृद्धिको कामना गरिरहेका छौँ । यस अवसरमा सम्पूर्ण नेपालीलाई म नयाँ वर्षको सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छु ।”
उनले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको र यसमा शुभचिन्तकहरूको माया, सद्भाव, प्रेम र प्रार्थनाले काम गरेको बताएका बताएका छन् । ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरूसँग म सहभागी हुन सकिरहेको छैन । तपाईंहरूको माया, सद्भाव, प्रेम र प्रार्थनाका कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ,’ उनले भनेका छन् ।
सांसद भण्डारीले छिट्टै नेपालमै फर्केर थप उपचार गर्ने समेत बताएका छन् । गत फागुन ३ गते राति काठमाडौं बुद्धनगरस्थित निवासमा ग्यास लिक भइ आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा घाइते भएका थिए । सुरूमा कीर्तिपुरस्थित अस्पतालमा उपचार गराएर उनलाई थप उपचारका लागि भारत लगिएको थियो ।
उनको आमाको भने फागुन ४ मै मृत्यु भइसकेको छ ।