×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘कोरोना गार्ड’ प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

‘कोरोना गार्ड’ प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना गार्ड’ प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने जनाउँदै बिक्रीमा ल्याइएको कोरोना गार्ड नकिन्न आग्रह गरेको हो ।

मन्त्रालया सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना गार्डले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा कुनै काम नगर्ने भएकाले त्यस्ता भ्रमपूर्ण गार्ड नकिन्न आग्रह गरेका हुन् ।

‘विज्ञापनमा गरिएजस्तो यस्तो यन्त्रले कोभिड-१९ भाइरसलाई निष्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनु नपर्ने भन्ने कुरा भ्रामक र तथ्यहीन छ,’ उनले भने, ‘अहिलेसम्म कोभिड-१९ लाई यसरी नियन्त्रण गर्ने कुनै प्रविधिको विकास भएको छैन ।’

गतवर्ष पनि कोरोनाको भाइरसबाट जोगाउनको लागि ‘भाइरस रिमुभिङ् कार्ड’ प्रयोग गरिएकोमा मन्त्रालयले उक्त कार्ड प्रयोग नगर्न आग्रह गरेको थियो । उक्त कार्डले कोरोना भाइरस सङ्क्रमणबाट नजोगाउने उल्टै मुटु, फोक्सोलगायतमा गम्भीर असर पार्नसक्ने बताइएको थियो ।

मन्त्रालयले कोरोना भाइरसबाट बच्नका लागि एकमात्र उपाय खोप लगाउने, मास्कको सधैं प्रयोग गर्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड लागू गर्ने बताएको छ ।

यस्तै मन्त्रालयले निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमणको जोखिम बढेकाले स्वास्थ्यका मापदण्ड प्रयोग गर्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयले सङ्क्रमणबाट बच्न सुरक्षाका सबै उपाय अपनाई व्यापार गर्नसमेत आग्रह गरेको छ ।

 
 

प्रतिकृया दिनुहोस्