काठमाडौं- काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा मेयर बालेन शाहलाई बैठक सञ्चालनको प्रक्रिया सिकाएर चर्चामा आएका १६ नम्बर वडाका अध्यक्ष मुकुन्द रिजाल यतिबेला टिकटकमा पनि भाइरल बनेका छन्।
पहिलेदेखि नै टिकटकमा सक्रिए रिजालले पछिल्लो समय वडा कार्यालयमा आफ्नो कार्यकक्षमै बनाएको टिकटकबाट उनी निकै आलोचित हुनुपरेको छ। वडाध्यक्ष रिजालले आफ्नो कार्यकक्षमा बसेर ‘ओइ डाँडाघरे साईंली मैले हत्ते गरेर के गर्ने’ बोलको गीतमा अभिनय गरेर बनाएको टिकटकले उनी आलोचित हुनु परेको हो।
टेबलमा वडाध्यक्षको नेमप्लेट र पछाडि राष्ट्रिय झण्डा राखेर टल्किने कालो चश्मा र क्याप लगाएका रिजालले निकै मेहनतपूर्वक अभिनय गरेका छन्। यो टिकटक भिडिओ नयाँ भने होइन। करिब ४ महिना अगाडि अपलोड भएको उक्त टिकटक महानगरको पहिलो कार्यपालिका बैठक पछि भाइरल बनेको छ।
रिजालले कार्यकक्षमा बसेर बनाएको यो एउटा मात्रै टिकटक भने होइन। उनले कार्यकक्षमा बसेर अरु पनि थुप्रै टिकटक बनाएका छन्। पहिलो कार्यपालिका बैठकमा चर्को बोलेर मेयरलाई बैठक सञ्चालनको प्रक्रिया सिक्न सुझाएका रिजालमाथि बालेनका समर्थकहरुले गालीको बर्षा छुटाएका छन्।
धेरैले मेयर बालेन्द्रलाई ट्याग गर्दै वडाध्यक्ष रिजाललाई ‘ठीक पार्न’ सुझाव दिएका छन्। नेपाल कांग्रेसबाट निर्वाचित रिजाल यसअघि पनि १६ नम्बरका वडाध्यक्ष थिए। अहिलेको स्थानीय चुनावबाट दोहोरिएका छन्। रिजालको कार्यशैलीप्रति यतिबेला सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ। यसअघि पनि वडाअध्यक्ष हुँदा सेवाग्राहीप्रति गर्ने उनको व्यवहारले धेरै मान्छे आजित बनेका पोष्टहरु सामाजिक सञ्जालमा आइरहेका छन्।