काठमाडौँ - हिजो स्थगित भएको नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । बिहान ९ बजे ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
तामाङका अनुसार बैठकमा विधान महाधिवेशन र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने छ । स्थायी कमिटी बैठक शुक्रबारका लागि तय भएको भएपनि प्रतिनिधि सभा बैठक जारी रहेपछि स्थगित गरिएको थियो ।
एमाले सांसदहरुको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबारको प्रतिनिधिसभा बैठक सञ्चालन गरेका थिए । शुक्रबार नै सरकार ओली नेतृत्वको निर्वमान सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको प्रतिस्थापन विधेयक पेश गरेको थियो ।