काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाई नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनित गर्नुभएको हो ।
नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा चितवनका दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संविधानमा ३ जना राष्ट्रिय सभा सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । यसअघि राष्ट्रपतिले मनोनित गरेका रामनारायण बिडारीको समय सकिएपछि रित्त पदमा प्रचण्डका भाई नारायण नियुक्त हुनुभएको हो ।