अमेरिकी सरकारको संघीय वाणिज्य आयोगले सोसल मिडिया कम्पनी फेसबुकलाई टुक्राउनका लागि बिहीबार अर्को प्रयास गरेको छ । आयोगले अमेरिकाको संघीय अदालतमा पुनः अर्को मुद्दा दर्ता गर्दै फेसबुकले सोसल मिडियामा एकाधिकार कायम गरी प्रतिस्पर्धामा बाधा पुर्याएको जिकिर गरेको छ । करीब दुई महीना अगाडि पनि आयोगले फेसबुकविरुद्ध यस्तै मुद्दा हालेकोमा संघीय अदालतका न्यायाधीशले आयोगको अभियोगमा प्रमाण नपुग्ने भनेर आदेश गरेका थिए ।
तर आयोगले बिहीबार संशोधित निवेदन अदालतमा दर्ता गरेको छ, जुन दुई महीना अगाडि दायर निवेदनभन्दा ५० प्रतिशत लामो छ । यद्यपि पुरानै निवेदनमा गरिएका अधिकांश दाबीहरुलाई दोहोराइएको छ ।
फेसबुकले प्रतिस्पर्धालाई निस्तेज पार्ने गरी विभिन्न कम्पनीहरु खरीद गरेर आफूमा गाभेर कानूनको उल्लंघन गरेको आयोगको जिकिर छ । यसमा फेसबुकले इन्स्टाग्राम र ह्वाट्सएप खरीद गरेको विषय तथा फेसबुकको प्लाटर्फममा थर्ड पार्टी एपलाई प्रवेश नदिएर प्रतिस्पर्धा विरोधी रवैया अपनाएको विषय प्रमुख रुपमा उठाइएको छ ।
उता फेसबुकले बिहीबार ट्वीट गर्दै आफूविरुद्ध संघीय वाणिज्य आयोगले दर्ता गरेको नयाँ संशोधित मुद्दाका विषयमा समीक्षा गरिरहेको र छिटै यसबारेमा विस्तृतमा बोल्ने बताएको छ । एक छुट्टै विज्ञप्तिमा फेसबुकले आफूविरुद्धको मुद्दाको कुनै तुक नरहेको बताएको छ।
‘फेसबुक एकाधिकारी हो भन्ने कुरा कुनै वैध दाबी थिएन र त्यो तथ्यमा कुनै परिवर्तन आएको छैन । ह्वाट्सएप र इन्स्टाग्राम खरीदको विषय धेरै वर्ष अगाडि नै सम्बन्धित निकायहरुले परीक्षण गरेर टुंगिइसकेका विषय हुन् अनि हाम्रा प्लाटर्फमका नीतिहरु कानून बमोजिम छन्,’ फेसबुकले भनेको छ ।
आयोगका दाबीहरु एन्टिट्रस्ट कानूनलाई पुनर्लेखन गर्ने तथा टुंगिइसकेका मर्जरका सम्झौतालई उल्टाउने प्रयासका रुपमा आएका फेसबुकको भनाइ छ ।
फेसबुकले भनेको छ-मानिसहरुको मन जित्न आफुहरु दिनहुँ लागिरहेका छौं र कम्पनी बचाउन पनि सशक्त रुपले लागिरहने छौँ । एजेन्सी